काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बितेको ३५ वर्षको राजनीतिक हिसाब खोजिरहनुभन्दा अबको ३५ वर्षका लागि योजना बनाउनुपर्ने बताएका छन्।

रास्वपाको नीति, संगठन तथा नेतृत्वसम्बन्धी कार्यक्रममा बोल्दै लामिछानेले नेता–कार्यकर्तालाई विगतमा भएका कामको आलोचनाभन्दा आगामी दिनको योजनामा केन्द्रित हुन आग्रह गरे।

‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,’ उनले भने।

उनले विगतमा जे–जति काम भए त्यसका लागि धन्यवाद दिँदै अब देश निर्माणको जिम्मेवारीबाट पछि हट्ने अवस्था नरहेको बताए। केही गर्न नसकिए पनि नराम्रो काम नगर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले मुलुकले वर्षौंदेखि देखेको सपना यसपटक पनि पूरा गर्न नसके देश थप निराशातर्फ जान सक्ने चेतावनीसमेत दिए। सरकारका कामकारबाहीमा कतिपय विवाद भए पनि कतिपय कामले नागरिकको प्रशंसा पाउने गरेको भन्दै उनले सरकारको नियत महत्वपूर्ण हुने बताए।

सो अवसरमा लामिछानेले आफूलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव विगतमा अस्वीकार गरेको दाबी पनि गरेका थिए । उनले २१ सिटको दलको नेता हुँदा आफ्नो हस्ताक्षर मात्रै बाँकी राखेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताए । तर, त्यसबेला आन्दोलन र जनताको आशालाई निरन्तरता दिन आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ।