रौतहट । बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला परेकी छन् ।
रातभर सुरक्षा निकाय र स्थानीयले खोजी गरेपछि आइतबार बिहान बालिका कलैया–२६ सिसवा महेशपुरमा फेला परेकी हुन् ।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दीलाई सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन् । उनले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन् ।
बालिका फेला परेको जानकारी पाएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बालिका हराएको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको नेतृत्वमा खोजी अभियान तीव्र पारिएको थियो ।
प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले समेत सम्भावित क्षेत्रमा खोजी गरेको थियो ।
बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठिरहेका बेला कलैयाबाटै दुई वर्षीया बालिका हराएपछि स्थानीयमा थप त्रास फैलिएको थियो ।
बिन्दी सकुशल भेटिएपछि भने परिवार र स्थानीयले राहतको सास फेरेका छन् ।
यद्यपि, दुई वर्षकी बालिका घरबाट टाढा सिसवा महेशपुरसम्म कसरी पुगिन् भन्ने विषय अझै खुल्न सकेको छैन । सडक किनारको नालामा बालिका भेटिनुको कारण तथा उनी त्यहाँसम्म पुग्नुको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ ।
बालिका सकुशल फेला पर्नु सुखद् भए पनि पछिल्ला घटनाक्रमले बालबालिकाको सुरक्षामा अभिभावकदेखि सुरक्षा निकायसम्म थप सतर्कता आवश्यक रहेको देखाएको छ ।








