काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले असन्तुष्ट निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आउन आग्रह गरेका छन् ।
निवर्तमान सभापति देउवा र पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेशन तालिकाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने चर्चा चलिरहेको बेला महामन्त्री पौडेलले संवाद र सहमतिमा आउनका लागि अपिल गरेका हुन् । उनले मुलुक विषम् परिस्थितिमा पुगेको भन्दै अदालतको ढोका कुर्न नहुने पनि जनाएका हुन् ।
‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन,’ उनले अपिलमा भनेका छन्, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ । म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् । यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो ।’








