काठमाडौं । सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट साउन २९ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री बनेका थिए । भट्ट विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा छन् ।
यस्तै, आजै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि दिउँसो तीन बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रदेश सभाबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए ।








