काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवा नै कांग्रेसको नेता र सभापति भएको बताएका छन्।
काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाको नेतृत्वमा कांग्रेस एकजुट भएर अघि बढ्ने दाबी गरे। उनले कार्यकर्तालाई आन्तरिक मतभेद बिर्सिएर देउवाको नेतृत्वमा गोलबद्ध हुन आग्रह गरे।
कोइरालाले आफ्ना पिता एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरणसमेत गरे। देउवासँग आफ्नो पहिलो भेट भारतमा भएको र बीपीकै आग्रहमा आफूले उनलाई घुमाएको उनले बताए।
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिइरहेको इतर समूहको भेलामा कोइरालाले भने, ‘शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्छ।’
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र जारी नेतृत्व विवाद र शक्ति संघर्षका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।








