काठमाडौं । कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ। विभागले नेपाल ई–एटेस्टेसन सिस्टम (NEATS) मार्फत कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो।

विभागका अनुसार २०८३ साउन २७ गते (१२ अगस्ट २०२६) देखि NEATS मार्फत कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्न सकिनेछ। यद्यपि, भदौ १ गते (१७ अगस्ट २०२६) देखि भने कागजात प्रमाणीकरणका लागि NEATS प्रणालीमार्फत अनलाइन आवेदन गर्नु अनिवार्य हुनेछ।

सेवाग्राहीले प्रणालीमा आवश्यक कागजात अपलोड गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन ‘Approved’ भएपछि तोकिएको राजस्व बुझाई आफ्नो अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित विभागमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

विभागले अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि doc.nepalconsular.gov.np प्रणाली प्रयोग गर्न आग्रह गरेको छ।

कन्सुलर सेवा विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि कागजात प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, भदौ १ देखि ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ अनिवार्य