काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकमा बारा निवासी निर्मल कुमार उप्रेतीलाई नियुक्त गरिएको जानकारी दिएको हो।

बैठकले वैदेशिक रोजगारसँगै ऊर्जा, सहिद घोषणा, कूटनीतिक सेवा तथा एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णय यस्ता छन् :

१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।

२. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।

३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।

४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।

५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।