काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणबारे संसद्‌मा पटक–पटक प्रश्न उठाउँदा पीडित परिवारलाई थप पीडा पुग्न सक्ने भन्दै यस विषयमा संयम अपनाउन सांसदहरूलाई आग्रह गरेका छन्।

राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्या र बलात्कार भएको लामो समय बितिसक्दा पनि दोषी पहिचान गरी न्याय दिलाउन नसकेको विषयमा सरकारसँग जवाफ मागेका थिए। उनले राज्य संयन्त्रको अक्षमता वा कारबाहीप्रतिको अनिच्छाका कारण न्यायमा ढिलाइ भएको हो भन्दै प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले निर्मला प्रकरणको अनुसन्धान सूक्ष्म ढंगले भइरहेको दाबी गर्दै विगतका सरकारतर्फ पनि प्रश्न तेर्स्याए। उनले भने, ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको हो ?’

गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान गृह मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसार निरन्तर अघि बढाइरहेको बताए। निर्मला प्रकरणमा पनि अनुसन्धानलाई क्रमबद्ध र संवेदनशील ढंगले अघि बढाइरहेको उनको भनाइ थियो।

उनले निर्मला पन्तकी आमाको पीडालाई थप बल्झाउने गरी संसद्‌मा विषय उठाइरहनुभन्दा अनुसन्धानबाट नतिजा निकाल्नुपर्नेमा जोड दिए। ‘यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ?’ भन्दै उनले प्रश्न गरे।

गृहमन्त्री गुरुङले आगामी दिनमा पनि निर्मला प्रकरणलगायत बलात्कार तथा अन्य संवेदनशील अपराधका विषय संसद्‌मा नउठाउन सांसदहरूलाई आग्रह गरे। यस्ता विषयलाई सार्वजनिक बहसको विषय बनाउनुभन्दा आवश्यक परे व्यक्तिगत रूपमा सरकारसमक्ष राख्न उपयुक्त हुने उनको सुझाव थियो।