काठमाडौं । सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स अभियन्ता ज्योति रानाभाटले आफ्नो आमरण अनशन तोडेकी छन्। स्वास्थ्यकर्मीका विभिन्न माग राख्दै गत साउन १४ गतेदेखि अनशनमा बसेकी रानाभाटले सरकारसँग सहमति भएपछि अनशन अन्त्य गरेकी हुन्।
सहमति अनुसार स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा–सुविधा निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्ने भएको छ। साथै, रानाभाटले अघि सारेका माग सम्बोधन गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
सरकार र नर्स अभियन्ताबीच भएको १९ बुँदे सहमतिमा नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको सेवा–सुविधा, जनशक्ति व्यवस्थापन, व्यावसायिक विकास, बिरामी सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलगायत विषय समेटिएका छन्। सहमतिपछि रानाभाटले आफूले सुरु गरेको सत्याग्रहका सबै कार्यक्रम अन्त्य गर्ने घोषणा गरेकी छन्।











