काठमाडौं। उपभोक्ता मञ्च नेपालले बजारमा बढ्दो महँगी, खाना पकाउने ग्यास (एलपीजी) को कृत्रिम अभाव तथा कालाबजारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले सरकारको बजार अनुगमन तथा नियमन संयन्त्र प्रभावकारी हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष रूपमा मारमा परेको आरोप लगाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा भारतबाट ग्यासको आयात, ढुवानी र आपूर्ति सहज भइरहे पनि बजारमा एलपीजी ग्यास सहज रूपमा उपलब्ध हुन नसक्नु, उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य हुनु तथा कृत्रिम अभाव सिर्जना गरेर कालाबजारी भइरहेको स्पष्ट देखिएको उल्लेख गरिएको छ।

मञ्चले चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि र अभाव सिर्जना हुनु चिन्ताजनक भएको जनाएको छ। नियमनकारी निकायहरू प्रभावकारी रूपमा परिचालन हुन नसक्दा सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनेको विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्तिअनुसार पछिल्लो समय चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ। व्यवसायीहरूले वर्षा र ढुवानीको बहाना बनाएर मूल्य बढाए पनि त्यसको ठोस र औचित्यपूर्ण आधार नभएको मञ्चको दाबी छ।

उपभोक्ता मञ्च नेपालले सरकारसँग तत्काल प्रभावकारी बजार अनुगमन सञ्चालन गरी नाफाखोरी, कृत्रिम अभाव र कालाबजारी नियन्त्रण गर्न माग गरेको छ। साथै, ग्यास सञ्चितीकरण गरी बढी मूल्यमा बिक्री गर्ने व्यक्ति तथा व्यवसायीमाथि कडा कारबाही गर्दै ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।

मञ्चले कुनै ठोस आधारबिना बढाइएको खाद्यवस्तुको मूल्य तत्काल फिर्ता गराउन, सर्वसाधारणलाई बढ्दो महँगीबाट राहत दिन तथा बिजुली र ढुवानी खर्चको दोहोरो भार कम गर्ने गरी आवश्यक सहजीकरणका कदम चाल्न पनि सरकारसँग माग गरेको छ।

उपभोक्ता मञ्च नेपालका राष्ट्रिय प्रवक्ता उज्वल राज गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकार संवेदनशील विषयमा तत्काल सक्रिय नभए उपभोक्ताको हक–हित संरक्षणका लागि देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।