विराटनगर। मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा सोमबार बिहान खानतलासी गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको उक्त कारबाहीमा प्रहरीले कुनै अवैध सामग्री वा स्रोत नखुलेको रकम फेला नपरेको जनाएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा पुगेको प्रहरी टोलीले मुन्दडाको घरमा विस्तृत खोजतलास गरेको थियो। कारबाहीका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने दुवै सडक केही समयका लागि बन्द गरिएकाले त्यस क्षेत्रमा सर्वसाधारणको आवतजावतसमेत प्रभावित भएको थियो।
प्रकाश मुन्दडाको परिवारद्वारा सञ्चालित देवनरा ग्रुपअन्तर्गत विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन्। विशेषगरी चाँदीको खरिद–बिक्री क्षेत्रमा समूहको उल्लेखनीय लगानी रहेको बताइन्छ। प्रहरीले चाँदी कारोबारसँग सम्बन्धित सूचनाको आधारमा अनुसन्धान अघि बढाएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन।
यसअघि पनि उक्त समूहमाथि अवैध हुन्डी कारोबारसँग सम्बन्धित आरोपहरू लाग्ने गरे पनि हालसम्म त्यस्ता गतिविधि पुष्टि हुन सकेका छैनन्।
प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्राप्त सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा कुनै पनि अवैध सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएको हो। उनका अनुसार अनुसन्धानका क्रममा उल्लेखनीय प्रमाण भेटिएको छैन।








