सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा लगाएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ। यद्यपि, गोलबजार क्षेत्रमा भने कर्फ्यु आदेश यथावत् राखिएको प्रशासनले जनाएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दै लहानमा आज बिहान १० बजेदेखि कर्फ्यु हटाइएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लहान नगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यु हटाइएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘लहान क्षेत्रमा सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यु हटाउने निर्णय गरिएको हो।’
तर, गोलबजार क्षेत्रमा भने अझै सुरक्षा संवेदनशीलता रहेकाले कर्फ्यु आदेश हाललाई यथावत् कायम राखिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सामाजिक सद्भाव कायम राख्न र कानुनको पालना गर्न आग्रह गरेको छ। साथै, प्रशासनले कुनै पनि प्रकारको अफवाहमा विश्वास नगर्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेको छ।








