काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।

बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ ।

क्लबले सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।

यसैबीच पुर्जाको ट्र्याकिङ डिभाइसमा हलचल देखिएको बताइएको छ। बीबीसीका अनुसार पुर्जाको लोकेसन देखाउने यन्त्र सक्रिय रहेको पाइएको हो।

पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्।

अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन पर्वतारोहीहरू यसप्रकार छन्ः

नधिरा अहमद अब्दुल्लाह अल हार्थी — ओमान

सोहेल साखी — पाकिस्तान

वाङ जोङ — चीन

मालोरी गाइस — अमेरिका

निर्मल पुर्जा ‘निम्स दाई’ — नेपाल

पुरबहादुर गुरुङ ‘युक्‍ता’ — नेपाल

किली पेम्बा शेर्पा ‘किलु’ — नेपाल

निमा शेर्पा — नेपाल

नवाङ थिन्डु शेर्पा — नेपाल
ग्यालु शेर्पा — नेपाल