काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जलगायतका विभिन्न स्थानमा भइरहेको हिंसात्मक गतिविधि तत्काल रोक्दै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

ओलीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई संयमित र जिम्मेवार भूमिकामा उत्रिन अपिल गरेका हुन्।

आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष ओलीले देवानगञ्ज गाउँपालिकामा केही दिनदेखि उत्पन्न तनाव, राज्य पक्षबाट भएको बल प्रयोग तथा गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको भएको निधनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

हिंसाको क्रम रोकिनुको सट्टा सिरहासहित विभिन्न स्थानमा समेत गोली चलेर थप नागरिकको ज्यान गएको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको ओलीले बताएका छन्। साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अध्यक्ष ओलीले जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलाग्नसमेत अपिल गरेका छन्।