काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको घटनामा प्रधानमन्त्री बालेन्द्र साहको पहल नदेखिएको बताएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
थापाले यस्तो बेलमा प्रधानमन्त्रीले सबै पक्षसँग समन्वयकारी भूमिका खेल्नुपर्नेमा त्यो नदेखिएको बताए ।
थापाले आफूले बैठकमा प्रधानमन्त्रीले यो बेलामा मिडियाहरुसँग संवाद गरे/नगरेको विषय पनि उठाएको बताए । उनले यस्तो बेला सञ्चारमाध्यमले गर्ने रिपोर्टिङले विशेष अर्थ राख्ने उनको भनाई थियो ।
सुनसरी घटना लगायत विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक नसकिँदै सभापति थापा बाहिरिएका थिए ।
थापा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक लागि निस्किएको बुझिएको छ ।
पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएपछि शोक प्रस्ताव पारित गर्न कांग्रेसको आकस्मिक बैठक आज बिहान बस्दैछ ।








