काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी देशभरको स्वास्थ्य सेवा नियमित बनाउन सरकारसँग आग्रह गरेका छन्।

सभापति थापाले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचार गरिरहेकै कारण भौतिक आक्रमणको शिकार हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको पर्खाइमा रहेका हजारौं बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गर्दै थापाले चिकित्सकहरू आफ्नो पेशागत सुरक्षाका लागि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुग्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताएका छन्। यस्तो समस्या पटक–पटक दोहोरिँदै आएको भन्दै उनले यसको तत्कालीन र दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

सभापति थापाले नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) बमोजिम कानुनी कारबाही गर्न तथा वार्ताका क्रममा चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लागेका अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

त्यसैगरी, नेपाल चिकित्सक संघ र आन्दोलनरत स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्दै ओपिडीसहितका अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु हुने वातावरण बनाउन सरकारलाई विशेष पहल गर्न उनले आग्रह गरेका छन्।

साथै, स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि हजारौं बिरामीको हितलाई मध्यनजर गर्दै वार्ता र संवादमार्फत समाधान खोज्न तथा सेवा प्रवाह नरोक्न सभापति थापाले अपिल गरेका छन्।