काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३ कप्तानगञ्जको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्। शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको उनको भनाइ छ।
संवेदनशील अवस्थामा सबै पक्षले उच्चतम संयतता अपनाउनु पर्ने उनको भनाइ छ। हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधान नगर्ने भन्दै दुवै समूहलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयतता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो । यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ ।’
पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीव्र असन्तोष पैदा भएको उनको भनाइ छ।
उनले थपेका छन्, ‘परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना, समाजमा शान्ति सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार कौशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नबाट चुकेको देखिन्छ । साथै, जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील बेलामा सामाजिक सञ्जालबाट थप असहिष्णुता फैल्याउने कार्य गर्न हुँदैन।’
सबैको साझा दायित्व शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई जोगाउनु भएकाले कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।








