काठमाडौँ, उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर (जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म) क्षेत्रमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ ठिमी र रोटरी क्लब अफ बागलुङको संयुक्त सहभागिता रहेको थियो।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २६ देखि अगस्ट १ सम्म घोषित ‘वृक्षारोपण सप्ताह (Tree Plantation Week)’ अन्तर्गत यो ‘मेगा ट्री प्लान्टेशन प्रोग्राम २०८३’ (प्रोजेक्ट धन्यवाद) सम्पन्न गरिएको हो।

करिडोरमा कपुरदेखि फलफूलका १,१५० बिरुवा

कार्यक्रमका क्रममा बल्खु खोला करिडोर क्षेत्रमा कपुर, धुपी, आँप, कल्की फूल, तेजपात र कडीपत्ता लगायत विभिन्न प्रजातिका कुल १,१५० वटा बिरुवा रोपिएको छ। वृक्षारोपणका साथसाथै उक्त सम्पूर्ण करिडोर क्षेत्रमा वृहत् सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो।

बल्खु खोला करिडोरमा १,१५० बिरुवा रोपिए: रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘१ लाख वृक्षारोपण अभियान’ तीव्र

स्थानीय निकाय र रोटरीको ऐक्यबद्धता

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले वातावरण संरक्षणमा रोटरीको प्रतिबद्धता दोहोर्याउँदै सहभागीहरूलाई प्रोत्साहन गर्नुभएको थियो।

कार्यक्रमका विशेष अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्णमान डंगोल तथा वडा नं. २ का अध्यक्ष रुपेश महर्जनले यस्ता हरित अभियानमा स्थानीय सरकारको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष रोटेरियन रमेशमान डंगोलले हरित सहर निर्माणका लागि वृक्षारोपणको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संयोजक एवं कीर्तिपुर रोटरीका पूर्व अध्यक्ष रोटेरियन पुष्पराज अधिकारीले बल्खु खोला करिडोरका बाँकी खाली स्थानहरूमा पनि नियमित रूपमा साप्ताहिक वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

बल्खु खोला करिडोरमा १,१५० बिरुवा रोपिए: रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘१ लाख वृक्षारोपण अभियान’ तीव्र

रोटरियनहरु र रोट्राक क्लब अफ नेपाल मण्डलका साथमा बिरुवाहरु रोप्दै रोटरी क्लब अफ नेपाल मण्डलका अध्यक्ष उत्तम भट्टराईले भन्नुभयो, – ‘रूखबिरुवाबिना जीवन अधुरो हुन्छ, वातावरण संरक्षणका लागि यो अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दछु ।’

प्रविधिको प्रयोग: जिपिएस ट्र्याकिङमार्फत डिजिटल अभिलेखीकरण

रोटरी डिस्ट्रिक्ट ३२९२ ले यस वर्ष देशभरि र भुटानसम्म रोपिने १ लाख बिरुवाको सही तथ्याङ्क र अनुगमनका लागि विशेष ‘Online Tree Plantation Tracking Platform’ (rotarydistrict3292.org.np/map) प्रयोगमा ल्याएको छ।

डिजिटल नक्सामार्फत कुन क्लबले कति र कहाँ बिरुवा रोपे भन्ने वास्तविक विवरण लगइन गरी लोकेसनसहित प्रविष्टि (Entry) गर्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा तथ्याङ्कको दोहोरोपन (Duplication) हट्ने र अनुगमन प्रभावकारी हुने बताइएको छ।

बल्खु खोला करिडोरमा १,१५० बिरुवा रोपिए: रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘१ लाख वृक्षारोपण अभियान’ तीव्र

स्थानीय जनप्रतिनिधि, रोटेरियन, रोट्रयाक्टर, टोल सुधार समिति, स्वयंसेवक तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागितामा सम्पन्न यस कार्यक्रमले बल्खु खोला करिडोरलाई हराभरा र वातावरणमैत्री बनाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।