काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा आज बिहान १०ः३० बजे उक्त सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्गसँगै अब सवारी चालकले नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ ।
उद्घाटनपछि सुरुङमार्गमा सीमित सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ । प्रारम्भिक चरणमा कार, जीप, भ्यान, पिकअप, बस तथा अन्य चारपाङ्ग्रे सवारी सञ्चालन हुनेछन् भने मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटलगायतका सवारीलाई तत्काल प्रवेश दिइने छैन ।
सुरुङमार्ग प्रयोग गर्न सवारीमा सम्बन्धित बैंकमार्फत प्राप्त एन–ट्याग स्टिकर जडान गर्नुपर्नेछ । उक्त ट्यागमा रकम रिचार्ज गरेपछि सुरुङमार्ग प्रवेश गर्दा स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ ।
टोल शुल्क पनि सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक निर्धारण गरिएको छ । कार, जीप, भ्यान र पिकअपले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस, मिनी ट्रिपर र ट्यांकरले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नेछन् । ठूला बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ । बहु–एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
२ दशमलव ६८ किलोमिटर लम्बाइको यो सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ मा औपचारिक रूपमा सुरु भएको थियो । यो आयोजना निर्माणमा जापान सरकारको करिब २१.५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । साढे तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारण देखाउँदै जापानी ठेकेदार कम्पनीले चार पटकसम्म म्याद थप गरेपछि आयोजना सम्पन्न भएको हो ।
उद्घाटनअघि स्थानीयको प्रदर्शन
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनको केही समयअघि केही स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।
नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने आकाशेपुल यथाशीघ्र निर्माण गर्न, सडक पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइ ओभर’ राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। ।
प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले मूल सडकमै प्रदर्शन गर्न खोजेपछि प्रहरीले त्यहाँबाट हटाएको छ।
स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।








