काठमाडौं। नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीको अगुवाइमा कर्णाली प्रदेशका असहाय, विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ‘कर्णाली आँखा अस्पताल’ स्थापना अभियान सुरु गरिएको छ।

अस्पताल स्थापनाका लागि एक अमेरिकी सहयोगी र स्वयं शाहीको पहलमा प्रारम्भिक चरणमै ११ लाख रुपैयाँ संकलन गरिएको जनाइएको छ। सामाजिक सेवालाई जीवनको प्रमुख उद्देश्य मान्दै सुरु गरिएको यस अभियानले कर्णालीका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

अस्पतालमार्फत निःशुल्क आँखा शिविर सञ्चालन, निःशुल्क शल्यक्रिया, औषधि वितरण तथा विभिन्न आँखा सम्बन्धी उपचार सेवा विस्तार गरिने योजना रहेको छ।

युवा नेता शाहीले “कसैको आँखामा उज्यालो भर्नु भनेको अन्धकारमा दियो बाल्नु जस्तै हो” भन्ने मान्यतासहित सामाजिक सेवामा समर्पित भएर अभियान अघि बढाइएको बताएका छन्।

उनका अनुसार कर्णाली आँखा अस्पतालमा अनुभवी चिकित्सक तथा आधुनिक उपकरणमार्फत मोतियाबिन्दु, ग्लुकोमा, दृष्टि कमजोरीलगायत आँखा सम्बन्धी रोगको सुलभ, गुणस्तरीय र भरपर्दो उपचार सेवा उपलब्ध गराइनेछ।

यस सामाजिक अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबै क्षेत्रबाट सुझाव, सल्लाह, सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।