बुढानीलकण्ठ नगरपालिका–११, कपनस्थित गुरुङ टोल विकास संस्थाको आयोजनामा ‘टोलवासीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष राजु अधिकारीले नवगठित गुरुङ टोल विकास संस्थालाई सफल कार्यकालको शुभकामना दिँदै टोलको विकास र समृद्धिका लागि वडा कार्यालयले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा स्थानीय बासिन्दाले वडाले गरेका विकास कार्यको प्रशंसा गर्दै सडक, पूर्वाधार तथा अन्य स्थानीय समस्याको समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए। वडा अध्यक्ष अधिकारीले टोल विकास संस्थाले स्थानीय सरकार र नागरिकबीच प्रभावकारी समन्वय गर्दै समस्या समाधान र विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

वडा सदस्य सम्वरबहादुर गुरुङले टोलका समस्या पहिलो चरणमा टोल विकास संस्थाबाटै समाधान गर्ने प्रयास हुनुपर्ने र आवश्यक परे जनप्रतिनिधि तथा वडा कार्यालयसँग समन्वय गरी अघि बढ्नुपर्ने बताए।

गुरुङ टोलमा जनप्रतिनिधीसँग प्रत्यक्ष संवाद, विकासका योजना र समस्या समाधानमा जोड

संस्थाका अध्यक्ष भीष्मराज ढकालले वडा कार्यालयसँग सहकार्य गर्दै टोलको समग्र विकासमा सक्रिय रहने, संस्थाको आर्थिक कारोबार पारदर्शी बनाउने र गुरुङ टोललाई नमुना टोलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा नं. ११ की सहजकर्ता कल्याणी खड्का राउत, संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय टोलवासीको उल्लेखनीय सहभागिता रहेको थियो।