संखुवासभाका सांसद डा. अर्जुनकुमार कार्कीले संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले निम्तियाएको भयावह अवस्थाबारे आज संसदमार्फत सरकारलाई जानकारी गराउनुभएको छ । संसदमा बिशेष समय लिएर बोल्दै उहाँले बर्षायाम सुरुहुनासाथ गएको बाढी र पहिरोको कारण ३ सय बढी घर परिवार बिस्थापित भएको भन्दै शरणार्थी परिवारलाई तुरुन्त उचित व्यवस्थापनको लागि माग गर्नुभएको छ ।
विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको, दुई विद्यालयमासमेत क्षति पुगेको र गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको भन्दै बालबालिकाको पठनपाठनकोलागि अस्थाई व्यवस्थापन गर्न पनि जोडदार माग गर्नुभयो । बालबालिका, सुत्केरी, महिला र ज्येष्ठ नागरिकको अवस्था पनि चिन्ताजनक भएको भन्दै स्वास्थ्य र उचित खानपानको व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो । जमिन व्यापक रुपमा चिरा चिरा परेकाले पुनः पहिरोको जोखिम बढेकाले तत्काल ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभयो । भौगोलिक बिकटताका कारण राहत र व्यवस्थापन चुनौतिपूर्ण भएको भन्दै तत्काल ध्यान दिन उहाँले सरकारसंग आग्रह पनि गर्नुभएको छ । सडक अबरुद्ध हुँदा त्यहाका जनताको अवस्था भयावह बन्दै गएको उहाँको भनाई थियो ।
१, बिस्थापित परिवारलाई तुरुन्तै उद्धार, खाद्यान्न र राहतको व्यवस्थापन गरीनुपर्छ ।
२, ३ सय बढी परिवारको जोखिमपूर्ण बसोबास छ की छैन स्थलगत अध्ययन गर्न भूगर्भविद्को टोलि पठाउनु पर्ने ।
३, दुईवटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीको पठनपाठन बन्द भएकाले अस्थाई रुपमा पठनपाठनको व्यवस्थापन गर्न माग ।
४,जोखिमपूर्ण बस्तीमा रहेका नागरिकको दिर्घकालिन समस्या सामधानका निम्ति गुरुयोजना बनाई लागु गरीयोस् ।








