काठमाडौं । आइतबारको सार्वजनिक बिदा कटौती गरिएको भन्दै सामाजिक सञ्जालमा प्रसारित गृहमन्त्रालयको नाममा जारी गरिएको पत्र फेक रहेको पुष्टि भएको छ। उक्त पत्र इडिट गरेर बनाइएको नक्कली सूचना भएको भन्दै सम्बन्धित निकायले त्यसप्रति विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सामाजिक सञ्जालमार्फत फैलाइएको उक्त पत्रमा आइतबारको बिदा कटौती गरिएको उल्लेख गरिएपछि धेरै व्यक्तिमा अन्योल र भ्रम सिर्जना भएको थियो। सोही सूचनालाई आधार बनाएर केही सञ्चार माध्यमहरूले समेत गृहमन्त्रालयको आधिकारिक सूचना भन्दै समाचार प्रकाशन तथा प्रसारण गरेका थिए।

तर गृहमन्त्रालयको आधिकारिक अभिलेख तथा स्रोतबाट उक्त पत्र नक्कली रहेको पुष्टि भएको छ। मन्त्रालयले त्यस्तो कुनै निर्णय वा सूचना जारी नगरेको जनाइएको छ।

फेक सूचनाका कारण सर्वसाधारणमा अनावश्यक भ्रम फैलिएको भन्दै आधिकारिक सूचना तथा निर्णयका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक माध्यमहरूबाट मात्र जानकारी लिन आग्रह गरिएको छ। साथै, सामाजिक सञ्जालमा प्रसारित हुने अपुष्ट तथा भ्रामक सामग्री शेयर गर्नुअघि सत्यता जाँच्न पनि अनुरोध गरिएको छ।

प्रविधिको दुरुपयोग गर्दै सरकारी पत्रहरू इडिट गरी भ्रामक सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही हुन सक्ने सरोकारवालाहरूले बताएका छन्।