स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को सचिव पदमा कृष्ण प्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको २४औँ वार्षिक साधारण सभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि उनले बलराम खतिवडा नेतृत्वको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
घिमिरे ऊर्जा क्षेत्रका सक्रिय उद्यमी तथा विकास हाइड्रोपावर, बुढीगण्डकी हाइड्रोपावर र साङ्ग्रिला हाइड्रोपावरको प्रबन्ध निर्देशक तथा सफल व्यवसायीका रूपमा परिचित छन् । ऊर्जा उत्पादन तथा निजी क्षेत्रको लगानी विस्तारका विषयमा लामो समयदेखि सक्रिय घिमिरेले संस्थाको सङ्गठनात्मक क्षमता अभिवृद्धि र सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्ने बताए ।
नीति तथा नियमन सुधार, लगानी प्रवर्द्धन र वित्तीय पहुँच, समन्वय र सहकार्य, ऊर्जा व्यापार र बजार विस्तार, दिगो विकास र वातावरण संरक्षण र सदस्य क्षमता अभिवृद्धि खतिवडा नेतृत्वको प्यानलको एजेन्डा भएको उल्लेख गर्दै घिमिरेले आफूले यही एजेन्डालाई सफल बनाउन सचिवको रूपमा कार्य गर्ने बताए ।
नेतृत्व क्षमतामा अब्बल घिमिरे मिडिया उद्यमीसमेत हुन् ।








