जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आगामी जेठ २४ गते विशेष साधारणसभा तथा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रशासनले जेठ १२ गते संघलाई पत्र पठाउँदै संघको नेतृत्व रिक्त हुन नदिन तथा विधानअनुसार नयाँ नेतृत्व चयन गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हो ।

संघका बहुमत पदाधिकारीले सामूहिक राजिनामा दिएपछि संघको विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको र त्यसपछि प्रबन्ध समिति गठन गरिएको विषयमा संघको सल्लाहकार समितिले जिल्ला प्रशासनलाई जानकारी गराएको थियो । सोही आधारमा प्रशासनले प्रचलित कानून, विधि र प्रक्रियाअनुसार अघि बढ्न निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पत्रमा उल्लेख गरेको छ, “यस कार्यालयबाट २०८३/०१/२९ मा संघलाई पत्राचार गरी विभिन्न विवरण माग गरिएकोमा माग गरिएबमोजिम सबै विवरण प्राप्त हुन सकेन ।”

विशेष साधारणसभा तथा निर्वाचनका क्रममा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासनले प्रहरी परिसर काठमाडौंलाई समेत बोधार्थ पत्र पठाएको छ ।

संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले प्रशासनको निर्देशनको स्वागत गर्दै अब सबै व्यवसायी महाधिवेशन र निर्वाचन प्रक्रियामा केन्द्रित हुनुपर्ने बताएका छन् । उनका अनुसार लामो समयदेखि संघमा देखिएको विवाद समाधानका लागि आफूले पहल गरे पनि सहमति हुन नसकेपछि विधानअनुसार निर्वाचनमा जानुको विकल्प नरहेको हो ।

भण्डारीले भने, “हामी कसैप्रति पूर्वाग्रही छैनौं । अब विधानअनुसार निर्वाचन गराउने हो । जिल्ला प्रशासनले दिएको निर्देशनअनुसार नै अगाडि बढ्छौं ।”

संघको विधानअनुसार पदाधिकारीमध्ये पाँच जनाले राजिनामा दिएमा पूर्व अध्यक्षहरूले २१ दिनभित्र निर्वाचन गराउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमितिको वैधानिकता समाप्त भएको दाबी गरिएको छ ।

संघको पदाधिकारीबाट राजिनामा दिनेहरूमा प्रथम उपाध्यक्ष सुजित श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ तथा कोषाध्यक्ष धनमाया सिंजाली रहेका छन् ।

संघको विधानको दफा २६ (४) मा रहेको राजिनामासम्बन्धी व्यवस्थाअनुसार दुईतिहाइ पदाधिकारीले सामूहिक राजिनामा दिएपछि कार्यसमिति स्वतः विघटन भएको बताइएको छ ।

यसैबीच, सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा सल्लाहकार प्रबन्ध समिति गठन गरिएको छ । समितिमा पूर्व अध्यक्ष विमल ढकाल, जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी तथा वरिष्ठ अधिवक्ता शम्भु निरौला सदस्य रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले संघलाई दिएको निर्देशनमा मुख्यतः विधान, प्रचलित कानून र स्थापित प्रक्रियाको अधीनमा रहेर काम गर्न, सदस्य संस्थालाई समयमै सूचना प्रवाह गर्न, स्वतन्त्र र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा सम्पूर्ण गतिविधिबारे नियमित रूपमा प्रशासनलाई जानकारी गराउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनसँगै केही व्यवसायीहरु नयाँ नेतृत्व चयनका लागि छलफलमा जुटन थालेका छन ।

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन जेठ २४ मै गर्न जिल्ला प्रशासनको निर्देशन