पूर्वमन्त्री दिपक खड्काले आफ्नो सम्पत्तिबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई “भ्रामक, कपोलकल्पित र नियोजित मिडिया ट्रायल” भएको बताएका छन् ।
हालै एक राष्ट्रिय दैनिकमा प्रकाशित “पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्” भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै उनले उक्त सामग्रीलाई आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित गरिएको दाबी गरेका हुन् ।
खड्काले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफू राजनीतिमा आउनुअघि देखि नै व्यवसायमा सक्रिय रहेको र हालसम्म सबै कारोबारको अडिट तथा कर राज्यलाई बुझाउँदै आएको उल्लेख गरेका छन् । उनले राजनीति मार्फत समाजसेवा, देश विकास र जनताको हितका लागि निरन्तर सक्रिय रहेको पनि बताएका छन् ।
उनले आफ्नो सम्पत्तिबारे राज्यका निकायबाट पटक–पटक अनुसन्धान भएको स्मरण गराउँदै सम्पत्ति शुद्धीकरण विभागले जेनजी आन्दोलनपछि आठ महिना अनुसन्धान गरेको तथा चैत्र १५ गते पक्राउ गरेर समेत अनुसन्धान गरिएको बताएका छन् । त्यसक्रममा सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागमार्फत विभिन्न छानबिन भए पनि अन्ततः सर्वोच्च अदालतबाट न्याय पाएको उनको दाबी छ ।
“मेरो गल्ती वा कमजोरी भेटिएको भए मलाई छोड्थे होला र ?” भन्दै उनले सम्बन्धित विभागहरूले समेत यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गरेका छन् ।
खड्काले आफ्नो विरुद्ध नियोजित रूपमा हावादारी र आधारहीन समाचार सम्प्रेषण गरिएको आरोप लगाउँदै प्रेस काउन्सिलमा निवेदन दिएको र कानुनी उपचार प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन् ।
साथै उनले सत्य र तथ्यको खोजी गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै आफू भगवानप्रति विश्वास गर्ने व्यक्ति भएकाले आफ्नो बदनाम गर्न खोज्नेहरूको पनि भलो होस् भन्ने कामना व्यक्त गरेका छन् ।








