काठमाडौं । प्रेस काउन्सिल नेपालको अनुगमनबाट पूर्वसञ्चारमन्त्री जगदीश खरेलविरुद्ध सञ्चारमाध्यममा प्रकाशित सामग्री ‘प्रमाणविहीन, अपुष्ट र एकपक्षीय’ रहेको ठहर गरिएको छ ।
काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार, सम्बन्धित समाचारमा गम्भीर आरोपहरू उल्लेख भए पनि त्यसलाई पुष्टि गर्ने आधार, प्रमाण तथा कागजात प्रस्तुत गरिएको नदेखिएको निष्कर्ष निकालिएको हो । साथै, समाचार प्रकाशन गर्दा सम्बन्धित व्यक्तिको प्रतिक्रिया समेटिएको नदेखिएको तथा पत्रकारिताको आचारसंहिताविपरीत सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर छ ।
विशेषगरी ‘स्मार्ट टेलिकम’ सम्बन्धी विषयमा उठाइएका आरोपहरू ‘अनुमानका आधारमा तयार गरिएको’ जस्तो देखिएको र यस्ता विषयमा पर्याप्त परीक्षणबिना सामग्री प्रकाशन गरिएको काउन्सिलले औंल्याएको छ । उजुरीसँगै प्राप्त खण्डन तथा स्पष्टीकरणलाई पनि उचित स्थान नदिई सामग्री सम्प्रेषण गरिएकोतर्फ काउन्सिलले ध्यानाकर्षण गराएको छ ।
पत्रमा उल्लेख गरिएअनुसार, उजुरी परेपछि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमलाई उजुरीकर्ताको प्रतिक्रिया तथा खण्डनलाई प्राथमिकताका साथ प्रकाशन गर्न र २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिएको थियो । साथै, प्रकाशित सामग्रीको तथ्यगत पुष्टि हुने प्रमाण उपलब्ध गराउन पनि भनिएको थियो ।
निर्देशनपछि राजधानी दैनिकले सो समाचारप्रति खण्डनसहितको जवाफ काउन्सिलसमक्ष पेश गरिसकेको जनाएको छ । काउन्सिलले उक्त जवाफ तथा उपलब्ध सामग्रीको थप अध्ययन गरिरहेको बताएको छ ।
काउन्सिलले प्रमाणबिना व्यक्तिको मान–प्रतिष्ठामा असर पार्ने सामग्री प्रकाशन नगर्न सञ्चारमाध्यमहरूलाई पुनः सचेत गराउँदै पत्रकारिताको आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।








