काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको विषयमा अद्यावधिक जानकारी सार्वजनिक गर्दै उनी अझै थुनामै रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा अमृत झालाई सन् २०२६ जनवरीको सुरुमै अन्य ६ विदेशी नागरिकसहित इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनी हाल बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

मन्त्रालयले जनाएअनुसार १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाह्राम शान्तियाइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको सूचना दिएका थिए । सोही आधारमा परराष्ट्र मन्त्रालयले अनौपचारिक रूपमा झा रिहा भएको जानकारी सार्वजनिक गरेको थियो । उक्त विषय परराष्ट्र मन्त्रीको सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक भएको थियो ।

तर त्यसपछि प्राप्त पछिल्लो विवरणअनुसार झा रिहा नभएको र उनको मुद्दामा अदालतले ‘एक्सपर्ट रिपोर्ट’ तयार गर्न निर्देशन दिएको खुलासा भएको छ । मन्त्रालयले यस विषयमा झाको परिवारलाई समेत सबै तथ्य जानकारी गराइसकेको जनाएको छ ।

रिहा भएको भन्ने अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति मन्त्रालयले क्षमायाचना गरेको छ । साथै, हाल विज्ञ टोलीले आवश्यक प्रतिवेदन तयार पारेर अदालतमा बुझाउने प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार झाको मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेकाले यसको टुंगो त्यहीँको कानुनअनुसार लाग्नेछ । तथापि, झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न तथा आवश्यक कूटनीतिक पहल निरन्तर जारी राखिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले उपलब्ध सबै माध्यम प्रयोग गरी नेपाली नागरिकको हित र सुरक्षाका लागि निरन्तर प्रयास भइरहेको पनि स्पष्ट पारेको छ ।