काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको भन्दै आपत्ति जनाएका छन्। पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर आएका समाचारप्रति प्रतिक्रिया दिँदै उनले यसलाई “मिडिया ट्रायल” को संज्ञा दिएका हुन्।

खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, “अहिले ममाथि मिडिया ट्रायल भएको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा फेक न्युज फैलाइएको छ। कृपया भ्रममा नपर्नु होला।”

उनले आफू हाल कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा रहेको स्पष्ट पार्दै कुनै गल्ती नगरेको दाबी गरेका छन्। “अहिले म कार्यक्रमकै सिलसिलामा स्विजरल्याण्डमा छु। गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन,” उनले उल्लेख गरेका छन्।

खरेलले आफूविरुद्ध उठेका प्रश्नहरूलाई पारदर्शी रूपमा सामना गर्न तयार रहेको संकेत पनि दिएका छन्। “सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ,” उनले भनेका छन्। उनले आफ्नो इमानदारी नै जीवन र राजनीतिक यात्राको मुख्य आधार भएको दाबी गर्दै भ्रामक प्रचारले आफ्नो चरित्र र भविष्यमा असर पार्ने उद्देश्य राखिएको आरोप लगाए।

“यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ” उनले भने ।

यसैबीच, उनले आफ्नो विरुद्ध फैलाइएका सामग्रीबारे कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्। “बाँकी कानूनी उपचार खोज्ने छु,” उनले बताएका छन्।

खरेलको यस वक्तव्यपछि पछिल्ला दिनमा फैलिएको विवादले नयाँ मोड लिएको छ भने सञ्चारमाध्यममा आएका सामग्रीको विश्वसनीयता र तथ्यपरकता सम्बन्धी बहस पनि चुलिएको छ।

रास्वपा सांसद खरेलको प्रष्टोक्ति- ‘नियोजित रूपमा फेक न्युज फैलाइएको छ, कृपया भ्रममा नपर्नु होला’