पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सांसद जगदीश खरेल ‘अनुसन्धानबाट बच्न सुटुक्क स्वीट्जरल्याण्ड भागेको’ भन्ने दाबी पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा व्यापक रूपमा फैलिएको छ। तर उपलब्ध तथ्य, आधिकारिक विवरण तथा सम्बन्धित पक्षको भनाइ हेर्दा यस्तो दाबी भ्रामक र अपुष्ट रहेको पुष्टि भएको छ।

एक दैनिक पत्रिकामा प्रकाशित समाचारपछि खरेलको नाम जोडेर विभिन्न आरोपहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेका थिए। विशेषगरी स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान अघि बढिरहेका बेला उनी ‘चुपचाप विदेश गएको’ भन्ने दाबी गरिएको थियो। तर, ती दावीहरु अनुमान र अपुष्ट सूचनामा आधारित देखिन्छन् भने समाचार केवल चरित्र हत्या र भ्रम फैलाउन उद्यत रहेको प्रष्ट हुन्छ ।

खरेलले आफ्नै सामाजिक सञ्जालमार्फत आफू स्वीट्जरल्याण्डस्थित एक अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा सहभागी हुन गएको स्पष्ट पारेका छन्। उनका अनुसार, उनी यसअघि पनि सन् २०१२ र २०१८ मा यस्तै कार्यक्रमहरूमा सहभागी भइसकेका छन्। उक्त कार्यक्रम University of St. Gallen द्वारा आयोजना गरिएको हो, जहाँ खरेललाई औपचारिक रूपमा निमन्त्रणा गरिएको र वक्ताका रूपमा सूचीबद्ध गरिएको विवरण विश्वविद्यालयको आधिकारिक स्रोतमा पनि देखिन्छ।

पुर्वमन्त्री खरेल ‘सुटुक्क स्वीट्जरल्याण्ड’ भन्ने हल्ला भ्रामक, पुर्व निर्धारित कार्यक्रमका लागि गएको पुष्टी  

खरेलको सचिवालयका अनुसार, उनी सभामुखसँग औपचारिक रूपमा बिदा लिएर कार्यक्रममा सहभागी हुन गएका हुन्। ‘सुटुक्क गएको’ वा ‘भागेको’ भन्ने प्रचारलाई सचिवालयले “मिडिया ट्रायल” र भ्रम फैलाउने प्रयासको संज्ञा दिएको छ।

स्मार्ट टेलिकम प्रकरण मा अनुसन्धान जारी रहे पनि खरेलविरुद्ध हालसम्म औपचारिक मुद्दा दर्ता भएको छैन, उनलाई फरार घोषित गरिएको छैन, प्रत्यक्ष संलग्नता पुष्टि हुने आधिकारिक प्रमाण सार्वजनिक भएको छैन । यसले ‘अनुसन्धानबाट बच्न विदेश भागे’ भन्ने निष्कर्षलाई कमजोर बनाउँछ।

पुर्वमन्त्री खरेल ‘सुटुक्क स्वीट्जरल्याण्ड’ भन्ने हल्ला भ्रामक, पुर्व निर्धारित कार्यक्रमका लागि गएको पुष्टी  

उपलब्ध तथ्य, निमन्त्रणा विवरण, विगतको सहभागिता र आधिकारिक भनाइहरूको आधारमा: खरेलको विदेश यात्रा पूर्वनिर्धारित र औपचारिक कार्यक्रमसँग सम्बन्धित देखिन्छ, ‘सुटुक्क भागे’ भन्ने दाबी पुष्टि हुन सक्दैन, सामाजिक सञ्जालमा फैलिएको सामग्री भ्रामक तथा अनुमानमा आधारित रहेको निष्कर्ष निकाल्न सकिन्छ ।

अनुसन्धानसँग जोडेर बिना प्रमाण कुनै व्यक्तिलाई ‘भागेको’ भनेर प्रस्तुत गर्नु जिम्मेवार पत्रकारिताको मान्यताविपरीत हुन्छ र यस्ता विषयमा तथ्यमा आधारित सूचनाको महत्त्व झन् बढ्छ।