काठमाडौं — नेपाल प्रहरीले सुकुम्बासी तथा भूमिहीन नागरिकहरूको व्यवस्थापनका लागि सरकारले सुरु गरेको प्रक्रिया प्रभावकारी बनाउन सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। प्रहरीद्वारा जारी सन्देशमा वास्तविक सुकुम्बासी र भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

प्रहरीले यो अभियानलाई नागरिकको उज्ज्वल भविष्यसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

तर, केही स्वार्थी तत्वहरूले सुकुम्बासीको नाममा अनधिकृत लाभ लिन खोजिरहेको भन्दै प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिका कारण वास्तविक पीडितहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत टाढा रहने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

सन्देशमा नागरिकहरूलाई सचेत रहन, नक्कली सुकुम्बासी/भूमिहीनको पहिचान गर्न र आवश्यक परे सुरक्षा निकायलाई सही सूचना दिन आग्रह गरिएको छ। साथै, वास्तविक सुकुम्बासीहरूलाई एकजुट भई सरकारी व्यवस्थापन कार्यमा सहयोग गर्न पनि अपिल गरिएको छ।

सरकारले नागरिकको सानो सहयोगले मात्र पनि वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।