भक्तपुर । बालबालिकाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलतालाई उजागर गर्दै गुणस्तरीय प्रारम्भिक शिक्षाको महत्वलाई झल्काउने उद्देश्यसहित युरोकिड्स सृजनानगर, भक्तपुरले आफ्नो वार्षिकोत्सव कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, हजुरबुवा–हजुरआमा, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साना बालबालिकाको प्रतिभा र आत्मविश्वासले भरिएको यस कार्यक्रमले उपस्थित सबैलाई भावुक र उत्साहित बनाएको थियो।

कार्यक्रमको सभापतित्व युरोकिड्स भक्तपुरका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेले गरेका थिए भने प्रमुख अतिथिको छनोट भने निकै फरक र प्रेरणादायी ढंगबाट गरिएको थियो। कार्यक्रममा उपस्थित अभिभावकहरूमध्ये सबैभन्दा ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथिको रूपमा चयन गरिएको थियो। सो क्रममा एक विद्यार्थीका करिब ७० वर्षीय हजुरबुवालाई प्रमुख अतिथिको रूपमा सम्मानपूर्वक आमन्त्रण गरिएको थियो। बालबालिकाको कार्यक्रममा ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाउने यो अभ्यासले उपस्थित सबैको मन जितेको थियो र कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा विद्यालयकी संस्थापक तथा प्रिन्सिपल सम्झना गिरी, अन्य विशिष्ट अतिथि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

कार्यक्रमको सुरुवात संस्कृत श्लोक वाचनसँगै पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। संस्कृतका पवित्र मन्त्र उच्चारणसँगै गरिएको दीप प्रज्वलनले कार्यक्रममा सांस्कृतिक र आध्यात्मिक वातावरण थपेको थियो। विद्यालयले सानै उमेरदेखि बालबालिकामा संस्कार, भाषा र ज्ञानको विकासमा विशेष ध्यान दिएको सन्देश यसबाट झल्किएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेले व्यक्त गरेका थिए। उनले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक स्वागत गर्दै विद्यालयको स्थापना, उद्देश्य तथा शैक्षिक योजनाबारे जानकारी गराएका थिए। आफ्नो मन्तव्यमा उनले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शिक्षण कार्य अघि बढाइरहेको बताए। काफ्लेले विद्यालयमा शैक्षिक पाठ्यक्रमसँगै संस्कार, अनुशासन, नेतृत्व क्षमता तथा रचनात्मक प्रतिभाको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै साना बालबालिकालाई संस्कृत र चिनियाँ भाषाजस्ता अतिरिक्त भाषा पनि सिकाइने व्यवस्था गरिएको जानकारी दिए। भविष्यमा अन्य अन्तर्राष्ट्रिय भाषाहरू पनि अध्ययन–अध्यापन गराउने योजना रहेको उनले बताए। उनले विद्यालयप्रति विश्वास राखी आफ्ना बालबालिका भर्ना गरिदिनुका साथै निरन्तर सहयोग र साथ दिइरहेका सम्पूर्ण अभिभावकप्रति विशेष धन्यवाद ज्ञापन गरे। अभिभावककै विश्वास र सहयोगले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको उनले बताए।

कार्यक्रमको मुख्य आकर्षण भने विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति रहेका थिए। साना बालबालिकाले नृत्य, गीत, योग, करातेलगायत विभिन्न गतिविधि आत्मविश्वासका साथ प्रस्तुत गर्दा उपस्थित दर्शकहरू निकै उत्साहित बनेका थिए।

मञ्चमा साना विद्यार्थीहरू आत्मविश्वासका साथ प्रस्तुति दिँदा अभिभावकहरू खुशीले ताली बजाउँदै उत्साह प्रदान गरिरहेका थिए। आफ्ना साना नानीहरूको प्रतिभा र प्रगति देखेर कतिपय अभिभावक भावुक समेत बनेका थिए। कार्यक्रमभरि उत्साह, हर्ष र भावनात्मक क्षणहरू झल्किरहेका थिए।

यसै अवसरमा यूकेजी तह उत्तीर्ण गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह पनि सम्पन्न गरिएको थियो। टोपी र गाउन लगाएर मञ्चमा उभिएका साना स्नातकहरूको त्यो दृश्य अभिभावकहरूका लागि अत्यन्त गर्व र खुसीको क्षण बनेको थियो। विद्यालय जीवनको पहिलो महत्वपूर्ण उपलब्धि मानिने यस ग्राजुएसन समारोहले कार्यक्रमलाई अझ विशेष र स्मरणीय बनाएको थियो।

कार्यक्रमको अन्त्यतिर विद्यालयका शिक्षकाहरुले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। शिक्षकाहरूको प्रस्तुतिले कार्यक्रममा थप उत्साह र रमाइलो वातावरण सिर्जना गरेको थियो।

समग्रमा बालबालिकाको प्रतिभा, आत्मविश्वास र रचनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन भएको यो वार्षिकोत्सव कार्यक्रम अत्यन्त सफल, स्मरणीय र भावनात्मक क्षणहरूले भरिपूर्ण बनेको थियो। अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन तथा बालबालिकाको सर्वाङ्गीण विकासमा गरिएको प्रयासप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए।

यसैबीच विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया पनि सुरु गरेको जनाएको छ। युरोकिड्स भक्तपुरमा प्ले ग्रुपदेखि यूकेजीसम्म तथा युरो स्कुलमा कक्षा १ देखि ९ सम्म सीमित सिटमा भर्ना खुला गरिएको विद्यालयले जनाएको छ। युरोकिड्स भक्तपुर हालै युरोकिड्स ग्लोबलद्वारा प्रदान गरिने “एक्सिलेन्स अवार्ड २०२६” बाट सम्मानित भएको विद्यालय हो। नेपालभरका युरोकिड्स शाखामध्ये उक्त प्रतिष्ठित सम्मान प्राप्त गर्ने तीन विद्यालयमध्ये पहिलो युरोकिड्स भक्तपुर रहेको बताइएको छ। यस उपलब्धिले युरोकिड्स भक्तपुरलाई नेपालकै उत्कृष्ट युरोकिड्स शाखामध्ये एकको रूपमा स्थापित गरेको विद्यालय प्रशासनले जनाएको छ।




























