भक्तपुरको सूर्यविनायकस्थित युरोकिड्सले शनिबार आफ्नो तेस्रो वार्षिकोत्सव तथा दीक्षान्त समारोह अत्यन्त भव्य, आकर्षक तथा भावनात्मक वातावरणबीच सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना गिरी, विद्यालय संयोजक शारदा जोशी, समाजसेवी तुलसीराम वैला, नेपाल प्रहरीकी डीएसपी चञ्चला श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य र उत्साहपूर्ण बनाएको थियो।


कार्यक्रमको सुरुवातमा सभापति काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्दै युरोकिड्सले छोटो समयमै गुणस्तरीय प्रारम्भिक शिक्षामा विश्वासिलो पहिचान बनाउन सफल भएको बताए। उनले बालबालिकाको समग्र विकास—शैक्षिक, व्यवहारिक, शारीरिक र भावनात्मक पक्षलाई सन्तुलित रूपमा अघि बढाउने उद्देश्यका साथ विद्यालयले कार्य गरिरहेको उल्लेख गरे। “बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, सिर्जनशीलता र आत्मविश्वास विकासमा केन्द्रित गरिरहेका छौं,” उनले बताए।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध र रंगीन प्रस्तुति थिए। नन्हा बालबालिकाहरूले गायन, सांस्कृतिक नृत्य, योग, कराते प्रदर्शन तथा कविता वाचनमार्फत आफ्नो प्रतिभा उजागर गरेका थिए। उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, अनुशासन र सिर्जनशीलताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो। आफ्ना सन्तानको यस्तो प्रगति देख्दा धेरै अभिभावक भावुक बनेका थिए भने कार्यक्रममा ताली र उत्साहले भरिएको वातावरण देखिएको थियो।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि निरौलाले आफ्नो मन्तव्यमा प्रारम्भिक बालशिक्षाको महत्वमाथि जोड दिँदै यस्ता विद्यालयहरूले राष्ट्रको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले युरोकिड्सले आधुनिक शिक्षण पद्धति र संस्कारयुक्त वातावरणमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे। साथै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै सम्पूर्ण टिमलाई बधाई दिएका थिए।

सो अवसरमा एक अभिभावकले मन्तव्य राख्दै विद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले शिक्षकहरूको समर्पण, माया, धैर्यता र व्यक्तिगत ध्यानका कारण बालबालिकामा आएको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा गरे। “हाम्रा बालबालिकामा आएको आत्मविश्वास, अनुशासन र व्यवहारिक सीपले हामी अत्यन्त खुसी छौं,” उनले भने, “युरोकिड्सले हाम्रो अपेक्षाभन्दा उत्कृष्ट परिणाम दिएको छ।”

कार्यक्रमअन्तर्गत यूकेजी तह पूरा गरेका बालबालिकाहरूको दीक्षान्त समारोह विशेष आकर्षणका रूपमा सम्पन्न गरिएको थियो। दीक्षान्त पोशाकमा सजिएका बालबालिकाको उत्साह, खुशी र अभिभावकहरूको भावुकता कार्यक्रमको स्मरणीय क्षण बनेको थियो।

प्लेग्रुपदेखि यूकेजी तहसम्म अध्यापन हुने युरोकिड्स सूर्यविनायकले बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित आधुनिक तथा व्यवहारिक शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ। विद्यालयले पाठ्यक्रमसँगै सह–पाठ्यक्रियात्मक गतिविधिलाई उच्च प्राथमिकता दिँदै बालबालिकाको सिर्जनशीलता, नेतृत्व क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्न विशेष जोड दिँदै आएको जनाएको छ। यस्ता कार्यक्रमहरूले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास विद्यालयले व्यक्त गरेको छ।










































