सिराहाको त्यो सानो गाउँ, जहाँ विहानी हुस्सुको चिसो हावा र चुनावको चुनावी रापले वातावरण तप्त थियो । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको सरगर्मीले टोल-टोल तातेको थियो । तर, दुई हप्ताअघि मात्रै दुबईबाट फर्केको सन्तुकुमारका लागि यो होहल्लाले कतै छोएको थिएन ।

उसको कानमा त केवल घरको दलानमा सुतेका बिरामी बुवाको सुक्खा खोकी र फेरिएको सासको आवाज मात्र गुन्जिरहेको थियो ।

गाउँको कच्ची बाटोमा कहिले ट्र्याक्टरको धुलाम्मे गर्जन आउँथ्यो, कहिले मोटरसाइकलको चर्को आवाज, त कहिले गाडीहरूको भकभक । बाटोभरि फिरुलालका चुनाव चिह्न अंकित झण्डाहरू फहराइरहेका थिए । ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नाराहरू गुन्जिरहेका थिए, तर ती आवाजहरू सन्तुकुमारको जीवनको यथार्थसँग कहिल्यै मेल खाएनन् ।

एक दिन अचानक, गाउँमा लामो समयदेखि राज गर्दै आएका र यसपटक पनि उम्मेदवार बनेका फिरुलालको चिरपरिचित स्वर सन्तुकुमारको आँगनमा सुनियो ।

“ए सन्तुकुमार ! तिमी त दुबईबाट आएका रहेछौ नि,” फिरुलालले अलि रवाफिलो स्वरमा भने, “यसपालि फागुन २१ गते मलाई भोट हालेर मात्र जानू है । बिर्सन पाइँदैन !”

सन्तुकुमार एकछिन रोकियो । उसले फिरुलालको अनुहारमा हेर्यो, जहाँ सत्ताको चमक थियो । अनि उसले सम्झियो— घर छोड्नुपरेका ती नमीठा दिनहरू । गाउँमा रोजगारी नपाएपछि साहुसँग चर्को ब्याजमा ऋण काढेर विदेशिनुपरेको त्यो बाध्यता । उसले सम्झियो— बुवाको ओछ्यान, बिदाइका बेला खसेका श्रीमतीका आँसु, र खाडीको ५० डिग्री तातोमा बगाएको आफ्नै पसिना जसले ऋणको हरेक किस्ता तिरेको थियो ।

उसले सम्झियो— यिनै फिरुलाल हुन् जो पटक-पटक चुनाव जित्छन्, तर गाउँका लागि सिन्को भाँच्दैनन् । विदेशमा महँगो कलेज पढ्दै गरेका फिरुलालका छोराछोरी, काठमाडौँ र गाउँमा ठडिएका उनका आलीशान महलहरू, र उनका चिल्ला गाडीहरू सन्तुकुमारको आँखामा झलझली आए ।

अनि अर्कोतिर थियो— उसको आफ्नै झुपडी, जहाँ एउटा थोत्रो बाकसभित्र अझै पनि ऋणका तमसुकहरू बाँचिरहेका थिए ।

चुनाव फागुन २१ गते हुँदै थियो, तर सन्तुकुमारको हातमा दुबई फर्कने हवाई टिकट फागुन २० गतेकै थियो ।

“नेताजी, फागुन २१ को भोटले मेरो बुवाको ओखती किनिदिन्छ र ?” सन्तुकुमारले मनमनै प्रश्न गर्यो । उसलाई थाहा थियो— यदि ऊ समयमै दुबई पुगेन भने उसको काम जानेछ, ऋण थपिनेछ र बुवाको उपचार बिचमै रोकिनेछ ।

गाउँमा फिरुलालका कार्यकर्ताहरू मासु-भात र रक्सीको प्रलोभन देखाइरहेका थिए । कसैले ‘देश बदल्ने’ भाषण दिइरहेका थिए । तर सन्तुकुमारलाई थाहा थियो, यी सबै आश्वासनहरू फागुन २१ को साँझसँगै हराउनेछन् ।

उसले सोच्यो— “मलाई विदेश लखेट्ने यिनै फिरुलाल होइनन् ? मेरो पसिनाको रेमिट्यान्सले यो देशको ढुकुटी चल्ने, तर म जस्ता लाखौँले विदेशबाटै भोट हाल्न नमिल्ने बनाउने पनि यिनै होइनन् ?”

फागुन २० गतेको साँझ । गाउँमा मौन अवधि सुरु भइसकेको थियो, तर भित्रभित्रै ‘भोट’ को व्यापार भइरहेको थियो । सन्तुकुमारले भने आफ्नो सुटकेस बन्द गर्यो ।

“भोलि त भोट हाल्ने दिन, नबस्ने ?” आमाले भरिएको आँखाले सोधिन् ।

सन्तुकुमारले गरुँगो स्वरमा भन्यो, “म बसेर भोट हालुँला आमा, तर भोलि साहुले ब्याज माग्न आउँदा फिरुलालले तिरिदिँदैनन् । बाको अर्को महिनाको औषधि यिनैले ल्याइदिन्छन् र ? मलाई देश बदल्ने सपना भन्दा पनि यो परिवारको भविष्य बचाउने हतारो छ आमा !”

ऊ रातको बस चढेर काठमाडौँतिर लाग्यो । बाटोभरि फिरुलालका पोस्टरहरूले उसलाई जिस्क्याइरहे जस्तो लाग्थ्यो ।

फागुन २१ गते बिहान । जब सिराहाका मान्छेहरू मतदान केन्द्रमा लाइन लाग्दै थिए, सन्तुकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा लाइन लाग्दै थियो ।

उसको हातमा नागरिकताको सट्टा राहदानी थियो । उसले नारा रोजेन, झण्डा बोकेन, र कसैलाई भोट पनि दिएन । उसले केवल आफ्नो जिम्मेवारी रोज्यो ।

जहाज उड्दै गर्दा उसले तलतिर हेर्यो । फिरुलालहरू फेरि विजयी हुनेछन्, तर सन्तुकुमारजस्ता पात्रहरू फेरि पनि हार्नेछन् । जबसम्म फिरुलालहरूको सोच र चुनावी प्रणाली परिवर्तन हुँदैन, तबसम्म सन्तुकुमारहरू फागुन २१ को मुखैमा आफ्नो माटो छोडेर पराईको आकाशमा उडिरहन बाध्य हुनेछन् ।

ऊ देश बदल्ने सपना बोकेर होइन, आफ्नो घरको चुलो बाल्ने बाध्यता बोकेर फेरि मरुभूमि फर्कियो । सन्तुकुमारको मतपत्र रित्तै रह्यो, तर उसको मन भने प्रश्नै प्रश्नले भरिएको थियो ।
000
यो कथा तिनै लाखौँ नेपालीको प्रतिविम्ब हो, जो चुनावको समयमा देशको मतदाता सूचीमा भएर पनि मरुभूमिको बालुवामा पसिना बगाउन विवश छन् ।