दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।

प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।

राजनीतिक दृष्टिकोण

झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो ।

२००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ । स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१/२०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’

स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ ।

‘२०७४ सालको आमनिर्वाचनपछि नेकपा (एमाले)ले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो । कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा(एमाले) समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘२०७४ २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ । २०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दै गयो । सत्ता टिकाउन दलहरुबिच अस्वस्थ गतिविधि हुन थाले । यस्तो बेलामा नेकपा ( एमाले) मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिनका लागि दुई ठुला दलहरूबिच सत्ता साझेदारी गरिएको थियो ।’

स्टन्टबाजी र पपुलिस्ट चरित्र

एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा राजनीतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाइएको छ ।

स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाइएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ताको नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाइएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’को कार्यक्रम

नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिवद्धता जनाईएको छ ।