संखुवासभा — नेकपा एमाले संखुवासभाका युवा नेता तथा सफल युवा व्यवसायी सुजन कुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपाको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी उपसभापति डोलप्रसाद अर्यालको उपस्थितिमा श्रेष्ठ औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।

नेपालदेखि अमेरिकासम्म सफल युवा व्यवसायीको रूपमा परिचित श्रेष्ठ संखुवासभामा लोकप्रिय तथा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। सामाजिक सेवा, उद्यमशीलता र युवामुखी सोचका कारण उनले जिल्लामा फरक पहिचान बनाएका छन्।

श्रेष्ठको रास्वपामा प्रवेशसँगै संखुवासभाको राजनीतिक समीकरणमा नयाँ तरंग आएको छ। विशेषगरी नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट संखुवासभामा उम्मेदवार बनेका मिङमा शेर्पाको पक्षमा जनसमर्थन थप मजबुत हुने अपेक्षा गरिएको छ।

रास्वपाले श्रेष्ठको आगमनलाई पार्टीको संगठन विस्तार र स्थानीय तहमा जनआधार सुदृढ गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।