संघर्षदेखि संवृद्धिसम्मका कथाहरू समेटिएको पुस्तक विमोचनसँगै नेपाल व्यवसायी संघ कतारको महाधिवेशन सम्पन्न
- रोजगारमञ्च
- माघ ११, २०८२
- 0
कतारमा क्रियाशील नेपाली व्यवसायीहरूको साझा तथा आधिकारिक संस्था नेपाल व्यवसायी संघ कतारको २०२४–२०२८ कार्यकाल अन्तर्गतको दोस्रो वार्षिक साधारण सभा, महाधिवेशन तथा स्मारिका (पुस्तक) विमोचन कार्यक्रम कतारको दोहामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली राजदूतावास, कतारका कार्यवाहक राजदूत कुमार राई, संघका अध्यक्ष महिन्द्र चौलागाई, संरक्षक बद्री पाण्डे तथा उपाध्यक्ष आर.के. शर्माले संयुक्त रूपमा स्मारिकाको विमोचन गर्नुभएको थियो।

कतार सरकारमा विधिवत् रूपमा दर्ता भएको नेपाली व्यवसायीहरूको पहिलो आधिकारिक संस्था नेपाल व्यवसायी संघ कतारमा हाल करिब ९० जना सक्रिय नेपाली व्यवसायीहरू आवद्ध छन्। प्रारम्भमा श्रमिकको रूपमा कतार प्रवेश गरी निरन्तर संघर्ष, मेहनत र उद्यमशीलतामार्फत सफल व्यवसायी बन्न सफल सदस्यहरूको प्रेरणादायी जीवन यात्रा उक्त स्मारिकामा समेटिएको छ। स्मारिकामा संघको स्थापना पृष्ठभूमि, उद्देश्य, गतिविधिहरू, सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरू तथा संघर्षबाट समृद्धिसम्मको नेपाली व्यवसायीहरूको यात्रालाई दस्तावेजीकरण गरिएको छ। यसले कतारमा रहेका तथा भविष्यमा व्यवसाय सुरु गर्न चाहने नेपालीहरूका लागि मार्गदर्शन र प्रेरणाको महत्वपूर्ण स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा उपस्थित वक्ताहरूले नेपाल–कतारबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संघ अझ सशक्त, व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। साथै, नेपाली व्यवसायीहरूको हकहित संरक्षण, आपसी सहकार्य र दीर्घकालीन व्यावसायिक विकासका लागि संघको योगदान अझ महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।









