काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ।

निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।

राप्रपाले झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ भने काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्र, काठमाडौं ५ बाट कमल थापा र काठमाडौं–३ बाट डा। सुन्दर सिंह बोहोरालाई उम्मेदवार बनाएको छ। यसैगरी उपत्यकासहित प्रमुख शहरी तथा ग्रामीण निर्वाचन क्षेत्रमा पनि पार्टीले उम्मेदवार तय गरेको छ।

पूर्वी पहाड, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा भएसँगै पार्टीको चुनावी गतिविधि तीव्र बनेको छ। बाँकी केही निर्वाचन क्षेत्रमा अन्तिम छलफलपछि उम्मेदवार सार्वजनिक गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

मनोनयन दर्तासँगै राप्रपाले देशव्यापी चुनावी अभियानलाई औपचारिक रूपमा तीव्र बनाउने तयारी गरेको छ।