काठमाडौं । संखुवासभाका दुई जेनजी आन्दोलनका शहीदको सम्झनामा शनिबार काठमाडौंमा श्रद्धाञ्जली सभा गरिएको छ । संखुवासभा–काठमाडौं जर्नालिष्ट एसोसिएशन (एसकाज)को आयोजनामा राजधानीको सानो गौचरनस्थित रानीमहल पार्टी प्यालेसमा कार्यक्रम गरिएको हो ।

संखुवासभाली जेनजी शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा

कार्यक्रममा जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्ने २२ वर्षीया प्रवीण कुलुङ र ४१ वर्षीया साजन मेवाहाङलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

संखुवासभाली जेनजी शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा

एसकाजका अध्यक्ष शंकर खनालले मृतक शहीदहरुलाई श्रद्धासुमन अर्पण गर्दै भने, “प्रवीण र साजन मात्र दुई व्यक्ति होइनन्, उनीहरू सम्पूर्ण नयाँ पुस्ताको प्रतीक हुन् । उनीहरूको साहस, दृढता र बलिदानले भविष्यमा आउने पुस्ताले अझ निडर भएर अधिकार, न्याय र समानताको पक्षमा आवाज उठाउने ऊर्जा पाउनेछन् ।”

संखुवासभाली जेनजी शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा

उनका अनुसार, शहीदहरूको बलिदानले नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सबल तुल्याउनेछ र सम्पूर्ण नेपाली समाजमा उत्तरदायी शासन, पारदर्शिता र समतामूलक भविष्य निर्माण गर्ने प्रेरणा दिनेछ ।

संखुवासभाली जेनजी शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा

कार्यक्रममा संखुवासभाका विशिष्ट व्यक्ति, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा राजधानीमा बसोबास गर्ने संखुवासभाली नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

संखुवासभाली जेनजी शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा

नेपालमा जेनजी आन्दोलन युवा पुस्ताले नेतृत्व गरेको ऐतिहासिक आन्दोलनका रूपमा चिनिन्छ । बेरोजगारी, राजनीतिक दुरुपयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असमानता, राज्यप्रतिको गहिरो असन्तोष र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै नयाँ पुस्ताका युवाले डिजिटल माध्यम र सडक दुवैबाट यो आन्दोलनलाई अगाडि बढाए । छिट्टै यो आन्दोलनले देशव्यापी स्वरूप लियो । विद्यार्थी, युवा, महिला, विभिन्न पेशागत संगठन, सामाजिक अभियन्ता र प्रवासी नेपालीले समेत सक्रिय साथ दिए । आन्दोलनका क्रममा सुरुवाती दिनमा शान्तिपूर्ण प्रदर्शन भए तापनि पछि आन्दोलनले हिंसात्मक मोड लिँदा ठूलो संख्यामा युवा घाइते र ७२ जनाले वीरगति प्राप्त गरे ।

आज जेनजी आन्दोलनलाई नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणको एउटा निर्णायक मोडका रूपमा हेरिएको छ । यसले पुरानो पुस्ताले नेतृत्व गरेको परम्परागत राजनीतिलाई चुनौती दिँदै नयाँ पुस्ताको चेतना, ऊर्जा र सपना नेपालको भविष्य निर्माणमा निर्णायक बन्न सक्ने स्पष्ट सन्देश दिएको छ ।