लोपन्मुख मैति लाखेनाचको पुर्नउत्थान : तेस्रो वर्षपनि भव्यताका साथ मनाइदै

news-details

लगभग ३ दशकपछि मैतिदेवी युनाइटेड क्लवद्वारा लोपन्मुख अवस्थामा रहेको मैतिलाखे नाच पुनः सुचारू गरेको छ ।

वि.स. २०८० सालबाट क्लवको सक्रियतामा मैतिलाखे नाचलाई पुनः सुचारू गरेको र अहिले तेस्रो वर्ष पनि निरन्तरता दिने क्लवले जनाएको छ । साथै भविष्यमा पनि यसलाई निरन्तरता दिदै जनाएको छ ।
नेवारी सभ्यता र सांस्कृतिक सम्पदालाई जोगाएर सुरक्षित रूपमा आगामी पुस्ताको हातमा सुम्पिने क्लवको मुख्य लक्ष्य रहेको क्लवले जनाएको छ ।

मैति लाखे नाच लाखे नाच एउटा मौलिक, संस्कृतिक, परम्परागत नाच हो । यो लाखे नाच बिभिन्न शहर, बिभिन्न स्थानमा आ–आफ्नै मौलिक, संस्कृतिक, परम्परागत कथन अनुसार नाच नचाउने चलन छ । साथै यस नाचमा प्रयोग गरिने बाजागाजाहरु पनि ठाउँ अनुसार आ–आफ्नै किसिमको मौलिक परम्परागत बाजाहरु बजाई लाखे नाच नचाईन्छ ।

काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुमा चैं बिशेष गरेर धाः, धिंमे, भुस्याः साथै नायः खिं जस्ता अन्य मौलिक बाजाहरु बजाएर पनि लाखे नचाईन्छ ।

यसै सन्दर्भमा कुरा गर्नुपर्दा ‘मेति अजिमा’ हाल मैतिदेवी माँ नामले प्रचलित मैतिदेवीको लाखे नाचको बारेमा पनि पृथक किंबदन्ति छ ।

किंबदन्ति अनुसारको संक्षिप्तमा कथन : मैतिदेवी (श्री मेति अजिमा) कहाँ सेवा, सुरक्षा र द्वारपालको रुपमा बसेका त्याहाँका नाग, नागिन, बेताल, भूत, प्रेत, लाखे, कंवचाकाली, ख्याक आदि जस्ता सेवकगणहरु बस्द थिए । त्यहाँका मानिसहरु मैतिदेवी माताको भक्त थिए ।

विभिन्न समयमा बिषेश पर्वहरुमा मानिसहरुले देवी–देवताको धुमधामसंग पूजाआजा, जात्रा–पात्रा गर्ने गर्दथे । साथै मानिसहरु बालबालिकाहरु बिरामी पर्दा र आफैं पनि बिरामी पर्दा नाग लाग्यो, भूतप्रेत लाग्यो भनि मानि नाग–नागिन आदि जस्तालाई सम्झि दोष निवारण गर्न पूजाआजा गरि भोग–भोजनहरु चढाउने गर्दथे र मानिसहरुले नाग पञ्चमीमा नाग–नागिनको र गठेमंगलमा भूतप्रेतहरुको घर–घरमा पूजा गर्ने गर्दथे । यो सब देखेर द्वारपालको रुपमा रहेका अजंगका लाखेलाई बेवास्ता गरेको आफुलाई चाँहि पुजाआजा नगरेको, नमानेको, भोग भोजनहरु नचढाएको र आफुलाई अन्य गणहरु भन्दा फरक राखी आफ्नो अपमान गरेको ठानी लाखे मानिसहरुसंग क्रोधित भई माताको सेवा गर्न छाडि गाउँ शहर भित्र पसी त्याहाँका मानिसहरुलाई दुःख दिने काम गर्न थाल्यो ।

जस्तै, मानिसहरुको भोग लिने, पशुपंक्षीहरु खाईदिने, बालबालिकाहरुलाई तर्साउने, धनजन नष्ट गरिदिने र प्रकोपहरु निम्त्याउने जस्ता अनिष्ठका कामहरु गर्न थाले र लाखेले अति अत्याचार गरेकोले सबै मानिसहरु माताको शरणमा गई गुहार लगाए । सो अनुरुप यस समस्याको समाधानको निम्ति हाँडिगाउँ स्थित नरनारायणको शरणमा जानको निम्ति आज्ञा दिनुभयो ।

मानिसहरु भगवान नरनारायणको शरणमा पुगि आफ्नो दुःख पिडाहरु सबै नारायण सामु राखे । यो सब कुरा सुनेर नारायण आफु द्वापरयुगमा मनुष्य अवतार कृष्णको रुपमा जन्म लिनेछु र त्यस समय बिषेश कुन्डलि नक्षत्रको योग पर्ने भएकोले त्यस समयमा आसुरी शक्ति, काला जादु गर्ने वा हुनेहरुको शक्ति हिन भएर कमजोर हुने गर्दछ ।

त्यस समयसम्म तिमिहरुले उक्त लाखेलाई लोभ देखाएर पूजा–आजा गरी भोग भोजन दिई फकाएर राख्नु । पछि मेरो यस धरतीमा जम्न हुने दिन त्यो लाखे शक्तिहिन हुने छ र त्यसलाई फकाई फुल्याई नाच गान गरेर खोलाको किनारमा लगि बध गर्नु भनि आज्ञा भयो । सोहि अनुसार मानिसहरुले लाखेलाई फकाउन लाखेलाई घर घर पिच्छे पूजा आजा गर्ने भोग चढाउने, अण्डा, माछा मासु, मदिरा आदि खुवाई खुशी बनाएर राखे । यसरी समय बित्दै गयो र नारायण भगवानको मनुष्य अवतार श्री कृष्णको रुपमा जन्म हुने दिन आयो र यस धरतीमा कृष्णको रुपमा जन्म लिनु भयो । सो दिन आसुरी शक्तिहरु निकै कमजोर भएका थिए । सोही मौका पारि श्री कृष्ण जन्माष्टमीको दिन त्यस लाखेलाई मिठो मिठो भोजन खुवाई मदिरा सेवन गराई लट्ठ बनाई बाजा गाजा बजाएर लाखेलाई नचाई खोलाको किनारमा लगि लाखेलाई शक्तिहिन पारेर मानिसहरुले त्यस लाखेलाई कुटि कुटि आफुहरुले आफुसंग उपलब्ध हातहतियारले हिर्काई त्यस लाखेको बध गरे । त्यस बध गरेको लाखेको रगत बगेर खोलाको किनार वरपर भएका खाडलहरुमा जमेर कयौं समयसम्म परि रहिरहयो । यसरी त्यस लाखेको अन्त्य भयो ।

त्यस खोलाको किनार र वरपर धेरै समय सम्म त्यस बध गरिएको लाखेको रगत जमेर बसेको हुनाले त्यस खोलाको नाम हिःजा खुसी रहन गयो भन्ने मान्यता छ । नेवार भाषा अनुसार ‘हिः’ भन्नाले रगत अनि ‘जा’ भन्नाले जमेको र खुसी भन्नाले खोला हो । हालको परिवर्तित नाम धोबीखोला हो ।

यसरी मानिसहरुले धेरै दुख, पिडा, कष्ट पाएको र धेरै कोसिस पछि लाखेको अन्त्य गरेकोले त्यस भयानक र दर्दनाक घटनाको सम्झनामा मानिसहरुले आफ्नो पिढि सन्ततिहरुले पनि थाहा पाई राखुन भन्ने उद्धेश्यका साथ स्थानिय समुदायहरुले लाखेको मुकुट बनाई बस्त्र, भेषभूषामा सजाई पूजा पाठ गरि बाजा गाजा सहित लाखे नाच नचाउने प्रचलन गरियो । एउटा के मान्यता छ भने जसले लाखेको पूजाआजा गरि भोग भोजन चढाई दर्शन गर्छ उसको घरमा रोग राग, जादु टोना, काला जादु जस्ता अन्य बाधा अडचन बाट बचाउँछ भन्ने जनमानसमा मान्यता छ । सोही अनुरुप आज पनि मानिसहरु लाखेलाई पूजाआजा गरी भोग चढाउने प्रचलन रहिआएको छ ।

यो लाखे नाच हरेक बर्ष नाग पञ्चमीका दिन निकालिन्छ भने श्री कृष्ण जन्माष्टमीको दिन लाखेको अन्त्य गरि समापन गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया