कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई
- बैशाख २३, २०८२
- 0

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताएका हुन् ।
उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको अविशिष्ट अधिकार पनि हो । यसमा समीक्षा गर्न सकिएला । तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु– तपाईँले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त ? एक पटक सम्झिनु त अस्तीको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो । अनि अर्को मुख्यसचिव ल्याउनुभयो । अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त ।’
साथै, उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया । मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ–सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् । धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने ।