सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए।

पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् । मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए ।

गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन ।
जोशीले  सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।