‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड
- फाल्गुन ३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PP2.jpeg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् ।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले भ्रष्टाचारको अन्त्य र सामाजिक न्याय स्थापनाको लागि देशव्यापी जनमत बलियो बन्दै गएको भन्दै यसको लागि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए ।
उनले भने, ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ । मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ ।’
यस्तै, उनले भ्रष्टाचारका विरुद्ध सुशासन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि बताए ।
उनले भने, ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।
यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरे ।
उनले माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए ।
त्यस्तै, उनले सहिद परिवारसँग पनि भेटघाट गरेका थिए भने आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।