दरबार स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा सुरेश श्रेष्ठ
- पुस २४, २०८१
- 0
नेपालको पहिलो (जेठो) स्कुल भानु मा.वि.(दरवार स्कूल) पूर्वविद्यार्थी समाजको छैटौ साधारणसभा तथा अधिवेशनले सुरेश बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
त्यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रजेन्द्र प्र. श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्रमान बज्राचार्य, सचिवमा श्री प्रधान, सहसचिवमा सुष्मा श्रेष्ठ, कोषाध्यक्षमा उषा कुमारी टिवडेवाल तथा सदस्यहरुमा दिपशक्ति ब्यान्जनकार, राधा थापा, ज्ञानी शोभा महर्जन, सुरेन्द्र खड्गी, राजेश सारव, सुरेन्द्रलाल नकर्मी र राजन दाहाल चयन गरेको छ ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष रामराजा कुवँरको सभापतित्व तथा दरवार स्कूलकै प्रद्यानाध्यापक शारदा पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रअ. पौडेलले समाजको छैटौ साधारणसभाको सफलताको शुभकामना दिदै यस पूर्व विद्यार्थी समाजले एउटै भवनमा २ वटा स्कूल भएकोले पठनपाठनमा समेत समस्या परेको र यस स्कूलको नाम पूरानै दरवार स्कूल राख्नमा समेत पहल कदमी गरोस् भन्ने धारणा राखे ।
यस्तै समाजका अध्यक्ष कुवँरले समाजका सम्पूर्ण सदस्यहरुको अथक प्रयासले पूर्व विद्यार्थी स्मारिका २०८० प्रकाशन गरिएको तथा ५ दर्जन बढी पुराना शिक्षक शिक्षिकालाई सम्मान गर्नुका साथै विविध गतिविधि सम्पन्न गर्न सकिएको बताए ।
यस्तै समाजका बरिष्ठ उपाध्यक्ष राजभक्त श्रेष्ठले अबका दिनमा पूर्व विद्यार्थी समाजलाई द्रुत गतिमा अगाडि बढाउन नयाँ कार्यसमिति लागिपर्नेमा आफु विश्वस्त रहेको बताउदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित अध्यक्ष कुँवर मार्फत समाजलाई १२ हजारको चेक हस्तान्तरण गरेका थिए ।
काठमाडौंको रानीपोखरीस्थित दरबार स्कुलकै परिसरमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्रमान बज्राचार्यले राखेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष रामभक्त श्रेष्ठले पूर्वविद्यार्थीहरुको जोश जागरमा कमी आउन नदिन तथा अझ वृहत् रुपमा सदस्यता विस्तार गर्दै स्कूल र साथीहरुबीचको भाइचाराको सम्बन्ध थप बढाउदै लैजाने बताए ।
समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्षको अस्वस्थाका कारण सदस्य दिपशक्ति ब्यान्जनकारले प्रस्तुत गरेका थिए भने सचिव प्रधानले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
समाजको साधारणसभा पूर्व विद्यार्थी (आजीवन सदस्य) हरुको उल्लेख्य उपस्थितिका साथ सम्पन्न भएको कार्यक्रम दिपशक्ति व्यान्जन्कार र राधा थापाले संचालन गरेका थिए ।
उक्त अवसरमा नयाँ कार्यसमितिलाई निर्वाचन संयोजक दिलचन्द्रानन्द वैद्यले प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराएका थिए ।