नेपालको पर्यटन क्षेत्रले पछिल्लो दशक निकै सास्ती खेप्नु प¥यो । वि.सं. २०७२ सालको महाभूकम्प र कोभिड महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो हलचल मच्चियो । कोभिडले विश्व ठप्प पार्दा नेपालको पर्यटन क्षेत्र झण्डै कोमामा पुग्यो । तर पछिल्लो समय भने पर्यटन उद्योगले कोभिडबाट उत्पन्न चुनौती पन्छाउँदै सुधार र अनुकूलनको चरणमा प्रवेश गरिरहेको छ । पछिल्लो दुई वर्षमा विदेशी पर्यटकको आवागमनले यो क्षेत्र सुधारको संकेत देखाएको छ ।
कोभिड महामारीसँगै सुस्ताएको पर्यटन आगमनले अब भने पुरानै लयमा फर्कने संकेत देखाएको हो । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को जनवरीदेखि मे महिनासम्म कुल ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् । कोभिड महामारीपछि नेपालमा पर्यटकहरुको आगमन यो अधिक हो । नेपालमा पछिल्लो समयमा भित्रने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रमा लागेका व्यवसायी तथा सरोकारवालाहरु उत्साहित भएका छन् ।
बोर्डका अनुसार सन् २०२४ जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे महिनामा ९० हजार २११ जना गरी ५ लाख ६ हजार २८० पर्यटक नेपाल भित्रिएका हुन ।
सरकारले यस वर्ष १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । पर्यटक आगमन दर अहिलेकै अवस्थामा वृद्धि हुँदै गए यो लक्ष्य पुरा हुन सक्ने सम्भावना रहेको बोर्डको आकलन छ । प्रधानमन्त्री पुष्पकमल दाहालले त आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा गरेको विशेष सम्बोधनमा सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुपर्ने नै बताएका छन् ।
कोभिड महामारीपछि सन् २०२० मा २ लाख ३० हजार, सन् २०२१ मा १ लाख ५० हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल घुम्न आएका थिए । जबकी कोभिड सुरु हुनुअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२३ मा सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा १० लाख १४ हजार ८७४ पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक, अक्टोबरमा १ लाख १७ हजार ३०६, नोभेम्बरमा १ लाख ८ हजार ६३० र डिसेम्बरमा ९६ हजार ५६६ पर्यटक नेपाल आएका छन् ।
नेपाल आएका पर्यटकको यो तथ्यांकले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पुर्व अध्यक्ष खुमबहादुर सुवेदी कोभिडअघिको समय सन् २०१९ कै दाँजोमा पुग्न नसके पनि पर्यटनको आगमन अहिले राम्रो भएको स्वीर्काछन् । उनी भन्छन्–‘जिडिपीमा ग्रोथ कति ग¥यौ, व्यवसाय कस्तो भयो भन्ने आफ्नै ठाउँमा होला तर पनि पर्यटन आगमनको हिसाबले राम्रो छ । यसैले पनि टुरिजम क्षेत्रमा आवद्ध व्यवसायीहरु उत्साहित छौ ।’
नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा बढी भारतिय नागरिक रहेका छन । छिमेकी मुलुक र भ्रमणका लागि पनि सहज गन्तव्य भएकाले भारतीयहरुको आगमन बढी हुन गएको हो । अर्कोतर्फ धार्मिक पर्यटकहरु भारतबाट नेपाल धेरै आउने गर्दछन् । यसपछि नेपाल आउनेमा अमेरिका, अष्ट्रेलिया र चिनिया नागरिक रहेका छन ।
नीतिगत सुधार गर्न आवश्यक छ
विनायक शाह, अध्यक्ष, होटल संघ नेपाल (हान)

अहिले पर्यटन आगमन उत्साहजनक छ, होटल ‘बुकिङ’ पनि सन्तोषजनक छ । विदेशी पर्यटक आगमन कोभिड–१९ पूर्वको अवस्थामा पुगेको छ, यसले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ । होटल पूर्वाधारमा ठूलो लगानी भएपनि क्षमताअनुरुप पर्यटक आगमन नहुँदा लिन सकिने फाइदाबाट भने बञ्चित हुनुपरेको अवस्था छ । सरकारले नीतिगत सुधार गर्न सके पर्यटन आगमन बढाउन सकिने छ ।
कोरोना कहरपछि झण्डै ३ वर्ष थलिएको पर्यटन क्षेत्र सन् २०२३ बाट पुरानै लयमा फर्कन थालेको हो । पछिल्लो समय देखिएको पर्यटन आगमन, होटल तथा पुर्वाधारको विकास, गन्तव्यस्थलमा देखिएको भिडभाडले पर्यटकीय गतिबिधी उत्साहजनक बन्दै गैरहेको छ ।
त्रिभुवन विमानस्थलको स्तरोन्नती र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सके तथा सडक सञ्जाललाई व्यवस्थित बनाउन सकेको खण्डमा आगामी दिनमा नेपालमा पर्यटक अझ बढ्ने सरोकारवालाहरुको भनाई छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२०–२०२१ मा पर्यटनबाट मुलुकले ३२ अर्ब ४४ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको थियो । त्यस्तै सन् २०२२–२०२३ मा ६१ अर्ब ५२ करोड २० लाख रूपैयाँ आम्दानी भएको थियो । सन् २०२३–२०२४ को तथ्यांक आउन बाकी रहेपनि नेपाली आर्थिक वर्ष अनुसार चालु आवको पछिल्लो ८ महिनामा ५१ अर्ब ३९ करोड आय भएको राष्ट्र बैंकको तथ्यांक छ ।

सरकारले गत आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउले घोषणा गरेको थियो । जस अनुसार सो अवधिसम्म प्रति पर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पु¥याउने लक्ष्य राखिएको छ । जबकी सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर र औसत बसाई १३.२ दिन रहेको छ । यसअघि २०२२ मा प्रतिदिन औसत खर्च ४०.५ डलर र औसत बसाई १३.१ दिन रहेको थियो । कोभिडअघि सन २०१९ मा प्रतिदिन खर्च औसत ४८ डलर रहेको थियो भने कोभिडको समय सन् २०२० मा ६५ डलरसम्म पुगेको थियो ।
पछिल्लो समय पर्यटनको मेरुदण्ड मानिने पर्वतारोहणका लागि आउने पर्यटकको खर्च र बसाई समय बढि हुने कारण समग्रमा औसत खर्च र बसाई समयमा बृद्धि देखिएको हो । नेपाल आउने अधिकांश पर्यटक घुमघामका लागि आउने गरेका छन् । यस्ता पर्यटकको बसाई अवधि र खर्च बढाउन नसक्दा पर्यटन क्षेत्रबाट लिन सकिने फाइदा लिन सकिएकै छैन । अतः पर्यटकको बसाई अवधि र खर्च बढाउन विशेष प्याकेजका कार्यक्रम ल्याउन नसक्ने हो भने भ्रमण दशक अवधिमा सरकारले लिएको प्रति पर्यटक औसत खर्चको लक्ष्य भेट्टाउन मुस्किल छ ।
पर्यटन क्षेत्र पुनरुत्थानको अवस्थामा पुगेको छ
नीलहरि बास्तोला, अध्यक्ष/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

कोभिडले थलिएको पर्यटन क्षेत्र पुनरुत्थानको अवस्थामा पुगेको र विस्तारै व्यवसायीहरुमा उत्साह छाउन थालेको छ । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगमा सञ्चालन गर्न सके तथा पर्यटकीय क्षेत्रको सडक सञ्जाललाई व्यवस्थित बनाउन सके आगामी दिनमा नेपालमा पर्यटक आगमन थप बढ्ने थियो ।
कोभिडपछि पर्यटनमा उत्साह जाग्दै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्ले ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’मा यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेकोमा त्यो लक्ष्य पुरा हुनेमा आशावादी रहेको सुनाएका थिए । उनले भोलिका दिनमा पर्यटन आगमन अझ बढाउन पर्यटन क्षेत्रले अहिले भोगिरहेको समस्याहरु सुधार्ने र पर्यटन आगमन बढाउन मन्त्रालयले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाह पछिल्लो समय पर्यटन आगमन बढेपछि होटल व्यवसायीहरुमा उत्साह जागेको बताउँछन । उनी भन्छन्, ‘अहिले पर्यटन आगमन उत्साहजनक छ, होटल ‘बुकिङ’ पनि सन्तोषजनक छ । विदेशी पर्यटक आगमन कोभिड–१९ पूर्वको अवस्थामा पुगेको छ, यसले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ ।” शाह होटल पूर्वाधारमा ठूलो लगानी भएपनि क्षमताअनुरुप पर्यटक आगमन नहुँदा लिन सकिने फाइदाबाट भने बञ्चित हुनुपरेको बताउदै सरकारले नीतिगत सुधार गर्न सके पर्यटन आगमन बढाउन सकिने औल्याउँछन् ।
यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला कोभिडले थलिएको पर्यटन क्षेत्र पुनरुत्थानको अवस्थामा पुगेको र विस्तारै व्यवसायीहरुमा उत्साह छाउन थालेको बताउँछन् । ‘सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगमा सञ्चालन गर्न सके तथा पर्यटकीय क्षेत्रको सडक सञ्जाललाई व्यवस्थित बनाउन सके आगामी दिनमा नेपालमा पर्यटक आगमन थप बढ्ने थियो’ उनको तर्क छ ।
यता नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापा नेपालको पर्यटन क्षेत्र आगामी दिनमा थप उत्साहजनक हुने अवस्थामा रहेपनि अन्तर्राष्ट्रिय पर्यटन आगमन बढाउन सरकारले खासै पहल गर्न भने नसकेको बताउँछन् । उनले भने ‘पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि खासै सक्रियता देखाउन नसकेपनि नीजि क्षेत्रका व्यवसायीहरुले भने सकेजति पहल गरिरहेको अवस्था छ । आगामी दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई नेपाल भित्र्याउने हो भने भ्रमण योजना नै बनाएर बोर्ड, सरकार र नीजि क्षेत्र सबै सक्रिय ढङ्गमा लाग्नु जरुरी छ ।’
पर्यटन आगमन बढाउन सरकारले खासै पहल गरेको छैन
रमेश थापा, अध्यक्ष/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)

नेपालको पर्यटन क्षेत्र आगामी दिनमा थप उत्साहजनक हुने अवस्थामा रहेपनि अन्तर्राष्ट्रिय पर्यटन आगमन बढाउन सरकारले खासै पहल गर्न भने सकेको छैन । पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि खासै सक्रियता देखाउन नसकेपनि नीजि क्षेत्रका व्यवसायीहरुले भने सकेजति पहल गरिरहेको अवस्था छ । धेरैभन्दा धेरै विदेशी पर्यटकलाई नेपाल भित्र्याउने हो भने भ्रमण योजना नै बनाएर बोर्ड, सरकार र नीजि क्षेत्र सबै सक्रिय ढङ्गमा लाग्नु जरुरी छ ।
नीति तथा कार्यक्रममा पर्यटन बर्षको अभियान
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ ।
नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले यस क्षेत्रलाई पुनःबजारीकरण गरेर बढीभन्दा बढी विदेशी पर्यटकलाई नेपालमा आकर्षण गर्ने उल्लेख गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आवको नीति तथा कार्यक्रममा समावेश पर्यटन क्षेत्रका कार्यक्रमको पुनः बजारीकरण, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी ती गन्तव्यकोे पहिचान, विकास र प्रवद्र्धन गर्नेलगायतका नयाँ कार्यक्रम समेटिएका छन् ।
‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम, सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास, एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा, नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिने, हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने जस्ता कार्यक्रम सरकारले ल्याएको छ ।
सरकारले साहसिक पर्यटनका नयाँ विधाहरुको प्रवद्र्धन गर्ने, चलचित्र पर्यटनको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाएर उत्कृष्ट योगदान पु¥याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ‘सगरमाथा विशेष सम्मान’ प्रदान गरिने जनाएको छ । संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।
बजेटमा पर्यटन, १६ लाखको लक्ष्य
आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको सरकारले बजेटमार्फत सार्वजनिक गरेको छ । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्र तर्फ रु. ११ अर्ब ९१ करोड विनियोजन गरेका छन् ।

नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने, पर्यटकलाई एकद्धार प्रणाली मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने बजेटमा उल्लेख छ ।
यस्तै छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख शहरमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सव जस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने तथा सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीय स्थल, बजार, स्वास्थ्य सुविधा विस्तार गरी सीमावर्ती पर्यटन प्रवद्र्धन गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिक स्थल दर्शन गर्ने व्यवस्था मिलाइने सरकारको लक्ष्य छ ।
तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थलमा परिपथ विकास गर्दै लगिने, बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धन गरिने तथा सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवद्र्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका इको हिल स्टेशन निर्माण गरिने बजेटमा उल्लेख छ ।
यस्तै पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने, पुराना प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्वद्र्धन गरिने र सम्भावित जोखिमयुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने जनाइएको छ ।
सरकारले नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्य राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हव र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हवको रूपमा प्रवद्र्धन गर्ने घोषणा पनि गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य शुरू गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गर्ने, भरतपुर विमानस्थल विस्तारको कार्य सम्पन्न गर्ने तथा सुर्खेत, रोल्पाको वडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गर्ने बजेटमा उल्लेख छ ।
१६ लाख पर्यटक भित्र्याने कसरी ?
सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्यमा पुग्न केही कार्य गर्नै पर्ने हुन्छ ।
१. पर्यटक आकर्षण : पर्यटकलाई नेपाल भित्र्याउनका लागि विश्व प्रसिद्ध पर्यटन स्थल, प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्व वा सांस्कृतिक विविधता झल्काएर मात्र सम्भव हुन सक्छ ।
२. पर्यटक सुविधाः राम्रो होटल, रेस्टुरेन्ट, यातायात सुविधाहरू र मनोरञ्जनका विकल्पहरू हुनुपर्छ । पर्यटकहरूको लागि सुविधाजनक र सुरक्षित वातावरण आवश्यक छ ।
३. प्रचार र बजारः प्रभावकारी बजार अभियान र प्रचार रणनीतिहरू धेरै पर्यटक आकर्षित गर्नमा मद्दत गर्न सक्छ ।
४. सामाजिक र राजनीतिक अवस्थाः यदि देश वा क्षेत्रमा सामाजिक र राजनीतिक स्थिरता छ भने पर्यटकहरूलाई सुरक्षित र सहज महसुस हुनेछ ।
५. संचार र यातायातः गन्तब्य स्थानमा पुग्न सजिलो र सुलभ हुनु पर्छ । राम्रो हवाई र सडक यातायात साधनहरूको उपलब्धता महत्वपूर्ण छ । संचारको सुविधा (टेलिफोन, मोवाइल, इन्टरनेट) सहज हुनु पर्छ ।
६. समय अनुसार गतिविधिहरूः स्थानीय उत्सव, खेलकुद कार्यक्रम, सांस्कृतिक कार्यक्रमहरू आदिले पर्यटकहरूलाई आकर्षित गर्न सक्छ ।
सबै कारकहरू अनुकूल छन् भने, १६ लाख पर्यटकहरूलाई आकर्षित गर्नु सम्भव हुन सक्छ । अन्यथा, घोषणामा मात्र सिमीत हुने छ ।
(अर्थ र रोजगार मासिक पत्रिकाको असार अंकमा प्रकाशित आवरण रिपोर्ट)








