तेन्जिङ्ग हिलारी पुरस्कारबाट एसी शेर्पासहित ४ जना सम्मानित
- रोजगारमञ्च
- जेष्ठ १७, २०८१
- 0
सगरमाथा आरोहण तथा पर्वतीय पर्यटनमा विशिष्ट योगदान पुयाएकोमा सोलुखुम्बुका (हाल अमेरिका) आङछिरी शेर्पा (एसी)लाई सम्मान गरिएको छ ।
७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेन्जिङ्ग हिलारी पुरस्कार २०२४ बाट एसी शेर्पासहित चार जना सम्मानित गरेका हुन् ।
उक्त पुरस्कारबाट एसी शेर्पा, दोलखाका पेमा छिरिङ्ग शेर्पा, बर्दियाका महाशेनानी सुनिल सिंह र सोलुखुम्बुकै एकल महिला सगरमाथा आरोहण दल, २०१९ लाई प्रदान गरिएको हो ।
विश्वको उच्च शिखर सगरमाथा लगायत ७ महादेशका अग्ला हिमालहरु आरोहण गरेका एसी शेर्पालाई सेभेन समिट फाउन्डेसन संस्था स्थापना गरी आरोहण क्षेत्र र पर्वतीय पर्यटनमा विशिष्टि योगदान पुर्याएको भन्दै तेन्जिङ हिलारी पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
अमेरिकाको सियाटल शहरको महाबाणिज्य दूतसमेत रहेका एसी शेर्पाले सेभेन समिट फाउण्डेशन मार्फत महिला, बालबालिका, शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा पनि सहायता गर्दै आइरहेका छन ।
नेपाल बाहिर रहेका एसी शेर्पाको सम्मान उनका दाजु कर्मा शेर्पाले ग्रहण गरेका छन् ।
२३ पटक सगरमाथा र १० पटक मनास्लु हिमालको सफल आरोहण गरेका पेमा शेर्पालाई दर्जनौ हिमाल आरोहण गरी ट्रेकिङ्ग तथा माउन्टेन गाइडको रुपमा २३ वर्षदेखि पर्वतीय पर्यटनमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको समितिले जनाएको छ ।
यस्तै, सिंहले सन् १९९९ बाट पर्वतीय पर्वतारोहण कार्यको सुरु गराएको, नेपाली सेनाको अधिकृत स्तरबाट सगरमाथाको सफल आरोहण गरेको, सन् २००८ मा बेइजिङ ओलम्पिकको टर्च सगरमाथा शिखरमा लगि खेल उदघाटन गर्ने कार्यको पूर्ण सुरक्षाको नेतृत्व गरी नेपाल सरकारको तर्फबाट सम्पूर्ण आरोहण दललाई आरोहणको लागि सहजिकरण गर्न सफल भए थिए ।
सन् २०१३ मा नेपाल भारत संयुक्त सगरमाथा आरोहण दलको नेतृत्व गरी आरोहण सफल पारेका सिंहले सन् २०१९ देखि सगरमाथा सफाई अभियानको सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।
एकल महिला आरोहण दलमा आवद्ध भई फुर दिकी शेर्पा र निम डोमा शेर्पाले सगरमाथाको सफल आरोहण गरेको प्रशंसा गर्दै सरकारले आरोहण दललाई सम्मान गरेको हो ।
सगरमाथा आरोहण गर्ने विश्वको पहिलो उडान परिचालिका ओम्निका डंगोल सम्मानित











