रोटरी क्लब अफ राजधानीद्धारा बि.एण्ड बि.हस्पिटललाई ६ वटा डायलायसिस् मेशिन हस्तान्तरण
- जेष्ठ ११, २०८१
- 0
हाम्रो शरीरमा भएका दुईवटा मृगौलाको काम रगत शुद्धिकरण गर्ने हो । मृगौलाले रगतमा भएका विकार अथवा काम नलाग्ने तत्वहरुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ । ती छानिएका विकार वस्तुहरु मृगौलाले मुत्र थैली तर्फ पठाउँछ जुन पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कासित हुने गर्छ । मृगौलाले गर्नु पर्ने यहि महत्वपूर्ण कार्य गर्न नसक्ने अवस्थामा डायलासिस गर्नुपर्ने हुन्छ । जनमानसमा मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मृगौला फेल भएको पनि भन्ने गरिन्छ ।
हाम्रो शरीरको मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थामा अथवा मृगौला फेल भएको अवस्थामा कृत्रिम रुपमा मृगौलाको काममा सघाउने विधि नै डायलासिस हो । स्वस्थ्य मृगौलाले गर्ने काम डायलासिस गर्दा मेसिन मार्फत् कृत्रिम रुपमा हुने गर्छ । पछिल्लो समय नेपालमा मृगौला फेल भएका विरामीहरुको संस्था बढिरहेको छ, सिमित अस्पतालमा सिमित मेशिनहरु मात्र भएको कारणले नियमित रुपमा डायलासिस गर्नुपर्ने मृगौलाका विरामीहरु समस्यामा पर्ने गरेका छन् । समयमा डायलासिस गर्न नपाउँदा स्वास्थ्य अवस्था गम्भीर हुनुको साथै कतिपयले मृत्युवरण समेत गर्न परेको अवस्था रहेको छ ।
मृगौला पिडित विरामीको अवस्थालाई मध्यनजर गरेर रोटरी क्लब अफ राजधानीले विहिबार एक कार्यक्रम आयोजना गरी बि.एण्ड वि. हस्पिटललाई ६ वटा डायलायसिस् मेशिनहरु हस्तान्तरण गरेको छ । उक्त मेशिन रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत प्राप्त भएका हुन् ।
उक्त हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यानको प्रमुख आतिथ्यता एवं रोटरी डिस्ट्रिक ३२९२ डिआरएफसी कुमुद त्रिपाठी, असिस्टेन्ट गभर्नर राजभाई सुवाल, एआरआरएफसी एम.के. झा तथा हस्पिटलका फाउन्डरद्धय डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै अस्पतालका संस्थापक डा. जगदिश बैद्य एवं डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गरे । उनले भने – ‘देशै भरबाट आर्थिक रुपमा विपन्न विरामीहरु यस हस्पिटलमा आउने गरेका छन् । यस मेशिनले डायलासिस् गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा लाभ लिने छन् ।’
डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन संभव भएको छ । रोटरीले प्रदान गरेको मेशिनले डायलायसिस् गर्न आउने विरामीहरुले लाभ लिनेमा विश्वस्त भएको बताए ।
असिस्टेन्ट गभर्नर राजभाइ सुवालले भने, ‘ग्लोबल ग्रान्ड रोटरीको सुन्दरता हो । रोटरीले सधैं समुदायलाई सहयोग पुर्याउने काम गर्दछ । त्यसै अनुरुप समुदायमा सहयोग होस् भनेर डायलासिस् मेशिन हस्तान्तरण भएको छ । वि।एण्ड वि। हस्पिटल उपयुक्त स्थान छनौट भएकोमा खुशी लागेको छ ।’
एआरआरएफसी एम.के. झाले समारोहलाई सम्बोधन गर्दै सबैको सहयोगमा ग्लोबल ग्रान्ड स्वीकृत भई ६ वटा डायलायसिस् मेशिन मार्फत् विरामीले सेवा लिन पाएकोमा उहाँले खुशी व्यक्त गरे । उनले भने– ‘रोटरी क्लब अफ रायपुर रोयल इन्टरनेशनल पाटर्नर र इन्जिनियर सुरेन्द्र माथेमाको डाइरेक्ट गिफ्ट प्राप्त भई रोटरी फाउन्डेशनको सहयोगमा ग्लोबल ग्रान्ड प्राप्त गरेका हौं । हामीले प्रदान गरेका ६ वटा मेशिन मार्फत् समूदायले अधिकतम लाभ लिन सकुन् ।’
रोटरी क्लब अफ राजधानीका अध्यक्ष केपी उपाध्यायले सफलतापूर्वक प्रोजेक्ट कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे । उनले भने – ‘एआरआरएफसी एम.के. झाको सक्रियता, सर्भिस कमिटी चेयर एवं पहिलो सम्पर्क व्यक्ति पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठको मेहनत, अस्पताल प्रशासनको सहयोग र रोटरी क्लब अफ राजधानीका सबै सदस्यहरु प्रतिवद्धता अनुरुप ग्रोबल ग्रान्ड करिब १ महिना भित्र हामीले प्राप्त गरेका छौं । हामीले प्रदान गरेको मेशिनले विपन्न परिवारका विरामीले लाभ लिनेमा हामी विश्वस्त छौं ।’
रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्र्तगत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुने गरेको छ । उक्त मेशिनहरुको लागत ५४,६०० डलर बराबरको रहेको छ ।
करिब ४० वर्ष अगाडी स्थापना भएको वि.एण्ड वि. हस्पिटल ३०० बेड क्षमतामा २६ वटा डिपार्टमेन्टमा सञ्चालनरत् रहेको छ ।
रोटरी क्लव अफ राजधानीबाट प्राप्त डायलासिस मेशिनबाट डायलासिस गरिरहेका विरामीहरुले अस्पतालको सेवाको प्रशंसा गरेका छन् । ‘डायलासिसका लागि विभिन्न अस्पतालमा समय लिन कोशिष गर्दापनि समय नपाएको र आफूलाई तत्कालै डायलासिस गर्नुपर्ने र तत्कालै डायलासिस नगरे जे पनि हुने डाक्टरले बताएको अवस्थामा बि एण्ड बि अस्पतालमा डायलासिसको व्यवस्था भएकोमा अत्यन्तै खुसी छु, मैले नवजीवन पाएको छु’ एक विरामीले डायलासिसको लागि खाएको हण्डर सम्झदै भने ।
बि. एण्ड बि. अस्पतालमा यो सुविधा पाएकोमा उक्त अस्पतालमा डायलासिस गराई रहेका मृगौला पिडितहरुले खुसी व्यक्त गरेका छन् । अस्पतालको सेवा गुणस्तरीय एवं सरल र सहज रहको छ, यति सुविधासम्पन्न अस्पतालमा निःशुल्क रुपमा डायलासिस गराउन पाएकोमा अत्यन्तै खुसी छु, अव डायलासिस पछि नवजीवन पाउने छु, बचेको जीवन समाजसेवामा नै समर्पित गर्नेछु रोटरी क्लव अफ राजधानीले उपलब्ध गराएको नयाँ डायलासिस मेशिनबाट डायलासिस गराइरहेका उनले जीवनप्रति आशावादी हुदै भने ।
रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले बताएको छ । स्थानीय तहको सिफारिसको आधारमा अस्पतालले निःशुल्क रुपमा डायलासिस सेवा उपलब्ध गराएको छ ।






















