आरती साहका परिवार र सरकारबीच सहमति, ९ महिनादेखिको आन्दोलन स्थगित

news-details

नौ महिनादेखि काठमाडौंमा आन्दोलनरत आरती साहका परिवार र सरकारबीच पाँच बुदे सहमति भएको छ । न्याय माग्दै आन्दोलनमा रहेका उनीहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता र न्यायका लागि पहल गर्ने आश्वासनपछि तत्काल आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । सरकार र पीडित पक्षबीच मंगलबार राति पाँच बुँदे सहमति भएको छ ।

जनकपुर उपमहानगरपालिका–९, थापा चोककी २२ वर्षीय आरती साहको मृत्युको घटनाबारे थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्नेलगायतका विषयमा सरकार र आरती सहका परिवारबीच सहमति भएको हो । आरती साहको गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।माइती पक्षले आरतीको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आन्दोलनमा उत्रिएको थियो ।

असार १ देखि आरती साहकी आमालगायतका परिवारका सदस्य आन्दोलनमा उत्रिएका थिए । उनीहरूले काठमाडौंमा न्यायको माग गर्दै आन्दोलनमा थिए । प्रहरीले भने घटनालाई आत्महत्याका रुपमा मुद्दा दर्ता गरेर टुंग्याउने प्रक्रियामा लगेको थियो ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपसचिव एकदेव अधिकारी तथा आन्दोलनकारीका तर्फबाट आरती साहकी आमा निर्मलादेवी साह, दाइ प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार सो मुद्दामा अब थप प्रमाणहरू संकलन र अनुसन्धानमा सीआइबीले काम गर्ने भएको छ । गृहमन्त्री लामिछानेले सो मुद्दा सीआईबीलाई जिम्मा दिने र ४५ दिनभित्र अनुसन्धान टुंग्याएर प्रतिवेदन पेश गर्ने बताएपछि पीडितहरु सहमति गर्न तयार भएका हुन् ।

त्यस्तै, अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम पुनः अभियोजन गर्ने पनि दुवै पक्षबीच सहमति भएको छ । आरती साहका परिवारलाई आर्थिक सहयोग गर्नका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *