राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्मा आमनेसामने, कस्तो छ अंकगणित ?
- फाल्गुन २७, २०८०
- 0
माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले बताए ।
उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन् ।
पदाधिकारी बैठक राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंग्याउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।
‘एउटै एजेण्डामा पदाधिकारी बैठक बसेको हो । राष्ट्रिय सभाका अध्यक्ष चयनका विषयमा बैठक केन्द्रित थियो । नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो,’ उनले भने, ‘पदाधिकारी बैठकमा व्यापक छलफल भयो, ६ वर्षलाई आधार बनाएर नीतिगत रुपमा छलफल गर्नुपर्छ भन्ने पनि थियो । अन्तिममा नारायण दाहालको नाममा सहमति भयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते सदनमा विश्वासको मत लिनेबारेमा पनि छलफल भएको पनि प्रक्रियामै रहेको खनालले बताए ।
दाहाल भर्सेस शर्मा
कांग्रेसले यसअघि राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहाल प्रतिस्पर्धी बन्ने भएका छन् ।
यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरेसँगै गठबन्धनको कांग्रेसभित्र हार्ने निश्चित हुँदाहुँदै सिनियर नेतालाई अघि सार्न नहुने दबाब बढेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो ।
त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र राष्ट्रिय सभा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको जोशीले बताए ।
कांग्रेस भर्सेस गठबन्धन : कस्तो छ अंकगणित ?
५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा वामदेव गौतम गरी ५८ सांसद छन् । एक जना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।
यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । यसो हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल अध्यक्षमा निर्वाचित हुने निश्चितप्रायः छ ।









