कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी छ । बिहीबारको वार्ता भएकै स्थान विराटनगरको बिग होटलमा आजको वार्ता सुरु भएको हो ।
कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचानवादीसँग सरकारले बिहीवार पहिलो चरणको वार्ता गरेको थियो । उक्त वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता सुरु भएको हो ।
बिहीवार बिराटनगरस्थित बिग होटलमा पहिलो चरणको औपचारिक द्विपक्षीय वार्ता सम्पन्न भएको थियो ।
सरकारले औपचारिक पत्र पठाएर आह्वान गरेपछि प्रदेश कोशी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको थियो ।
माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो ।
सोही समितिसँग पहिचान पक्षधरले बिहीवार र शुक्रवार वार्ता गरिरहेको छ । वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने कोशी प्रदेश सरकारका तर्फबाट गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमल जवेगुले बताए ।
प्रदेश सरकार र पहिचान पक्षधरको अर्को चरणको वार्ता आज बिहान ८ बजेदेखि शुरु भएको छ । दोस्रो चरणको द्विपक्षीय वार्ताले के—के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने बताइएको छ ।








